• ३ जेठ २०८२, शनिबार

सगरमाथा संवाद

हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउन विज्ञको जोड

blog

काठमाडौँ, जेठ ३ गते । विज्ञहरूले विकासशील तथा साना गरिब राष्ट्रमा जलवायु परिवर्तनले हुने हानी नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनुपर्ने बताएका छन् ।

सगरमाथा संवादमा हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र हानी नोक्सानीबारे भएको छलफलमा विज्ञहरूले क्षतिपूर्ति पाउने प्रक्रिया सरल गर्नुपर्ने बताएका हुन् । नेपाल जस्ता गरिब र साना देशले जलवायु परिवर्तनसँग जुध्न आवश्यक कार्यक्रम सञ्चालन गर्न जलवायु कोषहरूमा सहज पहुँच पुर्‍याउन आवश्यक रहेको बताए ।

छलफलमा प्रमुख वक्ताको रूपमा बोल्दै हानी, नोक्सानी सम्बोधन कोषका कार्यकारी निर्देशक इब्राइम शेख डियोङले जलवायु परिवर्तनविरुद्ध लड्न विश्वव्यापी सहकार्य र समन्वय तथा समर्थनको खाँचो रहेको बताउनुभयो । जलवायु परिवर्तनविरुद्धको प्रतिकार्य र दिगोपनाको लागि प्रभावित देश र नागरिक समाज अगाडि आउनुपर्ने बताउनुभयो ।
घटनाको विश्वव्यापीकरण र समर्थनले हानी नोक्सानी कोषसम्म पुग्न सहज हुने बताउनुभयो । कार्यकारी निर्देशक डियोङले प्रभावित देशका सरकारहरूलाई सशक्तीकरण गर्न आवश्यक रहेको जानकारी दिनुभयो । सरकार स्पष्ट र बलियो भए मात्रै आफ्ना कुरा विश्वसामु राख्न र प्राप्त हुने कोष परिचालन गर्न सक्षम हुने उहाँको भनाइ छ ।

यसैगरी, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमका जोखिम व्यवस्थापन विज्ञ राजेश शर्माले जलवायु परिवर्तनको कारणले हुने गैर आर्थिक हानी नोक्सानीको लेखाजोखा धेरै नै महत्त्वपूर्ण भएको बताउनुभयो । आर्थिक हानी, नोक्सानी जस्तो स्पष्ट नदेखिने र नापतौल गर्न नसकिने भएकाले यसको हानी नोक्सानीका लागि छुट्टै विधि र प्रक्रिया आवश्यक रहेको जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमले सरकारहरूलाई गैह्रआर्थिक हानी, नोक्सानीको लेखाजोखा गर्न सघाउने लागेको बताउनुभयो । गैह्रआर्थिक हानी, नोक्सानीको लेखाजोख गर्ने विधि आगामी २०२६ सम्ममा तयार हुने बताउनुभयो । 

छलफलमा विज्ञहरूले नेपाल जस्ता पहाडी देशले मौसमजन्य विपद्को विकराल असर भोग्नुपरेको बारेमा चिन्ता व्यक्त गर्नुभयो ।

इसिमोडका सल्लाहकार अरुणभक्त श्रेष्ठले बाढी, पहिरो, हिमताल विस्फोट, तातोलहर जस्ता घटनाको प्रतिकार्यमा सरकारहरू कमजोर हुन थालेको बताउनुभयो । भारतका विज्ञान तथा प्रविधि विभागका डा. अनिलकुमार गुप्ता र ब्राजिलको हेनरिक बोल फाउन्डेसनका सामाजिक वातावरणीय न्याय कार्यक्रम संयोजक मौरिन सान्तोसले सिमित क्षमतामा रहेका समुदायले हानी नोक्शानी कोषमा छिटो पहुँच पुर्‍याउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।