• १६ साउन २०८२, शुक्रबार

आमरण अनशनमा रहेका प्रमुख भट्टराई अस्पताल भर्ना

blog

आमरण अनशन बस्नुभएका प्रमुख तीर्थराज भट्टराई अस्पताल भर्ना । तस्बिर : प्रमुख भट्टराईको सचिवालय

राजकुमार भट्टराई
खोटाङ, साउन १५ गते ।
आमरण अनशनमा बस्नुभएका प्रमुख तीर्थराज भट्टराई अस्पताल भर्ना हुनुभएको छ । चिकित्सकको सल्लाह अनुसार वीर अस्पताल भर्ना हुनुभएको प्रमुख भट्टराईको सचिवालयले जनाएको छ ।  

तीन दिनसम्म भोकहड्तालमा बस्नुभएका प्रमुख भट्टराई माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन बस्नुभएको हो । साउन १४ गते बुधबार बिहान ९ बजेबाट माइतीघर मण्डलामा प्रमुख भट्टराईले आमरण अनशन सुरु गर्नुभएको हो । हालसम्म प्रमुख भट्टराईको माग सम्बोधन नभएकाले उहाँले अनशनलाई निरन्तता दिइरहनुभएको छ । स्वास्थ्यमा समस्या आएकाले चिकित्सकको सल्लाह अनुसार प्रमुख भट्टराई अस्पताल भर्ना हुनुभएको हो । उहाँले अस्पतालमै अनशनलाई निरन्तरता दिइरहनुभएको छ ।

माइतीघर मण्डलामा आमरण अनशनमा रहनुभएका प्रमुख भट्टराईलाई बुधबार साँझ नेपाल प्रहरीले त्यहाँबाट उठाउन खोजेको थियोे । प्रहरी र प्रमुख भट्टराईको समर्थकहरुबिच भनाभनसमेत भएको थियो ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख भट्टराईले बाँदरलगायत जङ्गली जनावरको नीतिगत व्यवस्थापन गर्नुपर्ने, बाँस र कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न बिल्डिङ कोर्ड र नर्म्स तयार गरी कानुन निर्माण गर्नुपर्ने, जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर उद्योग लगायतलाई कानुन बनाई कारबाही गर्नुपर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानुन बनाउनुपर्ने, काठमाडौँबाट खोटाङ जाने अलपत्र सडक र पुलहरु अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरी काम सम्पन्न गराउनुपर्ने लगायतका माग प्रमुख भट्टराईले राख्नुभएको छ ।