• १६ साउन २०८२, शुक्रबार

प्रदेश प्रमुख अस्वस्थ भएपछि फेरि रोकियो मन्त्रीहरुको शपथ

blog

स्मिता अर्जेल
मकवानपुरगढी, साउन १५ गते ।
बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथ फेरि रोकिएको छ । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा बिहीबार बिहानै काठमाडौँ प्रस्थान गर्नुभएपछि आज दिउँसो १ बजे गर्ने भनिएको शपथ ग्रहण रोकिएको हो ।

बागमती प्रदेश प्रमुख कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएकाले उहाँ आज बिहानै काठमाडौँ प्रस्थान गरिसक्नुभएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘‘बागमती प्रदेश सरकारका नवनियुक्त माननीय  मन्त्रीज्यूहरुको  शपथ ग्रहण समारोह मिति २०८२ साउन १५ गते बिहीबार दिउँसो १ बजेका लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अचानक समस्या आएकाले उपचारार्थ आज बिहानै काठमाडौँ प्रस्थान गर्नुभएको हुँदा अर्को सूचना प्रकाशन नभएसम्मका लागि शपथ ग्रहण कार्यक्रमलाई हालका लागि स्थगन गरिएको बेहोरा जानकारीको लागि अनुरोध छ ।’’

यस अघि हिजो बुधबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशका तीन सांसदलाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

लामाले गोविन्द लम्साल (धादिङ), माया श्रेष्ठ र गीता गुरुङ (चितवन)लाई मन्त्री नियुक्त गर्नुभएको हो ।

उहाँले लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई सहकारी मन्त्रालय र गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सुम्पिनुभएको हो ।

नवनियुक्त मन्त्रीहरूको शपथ हिजै गर्ने तयारी गर्नुभएका मुख्यमन्त्री लामाले नेकपा एमाले संसदीय दलको सुझाव अनुसार शपथ कार्यक्रम स्थगित गर्नुभयो ।

सत्ता साझेदार नेकपा एमालेले संवेदनशील अवस्थामा मन्त्रीमण्डल विस्तार गर्न नहुने धारणा राखेपछि मुख्यमन्त्री लामा पछि हट्नुभएको हो ।

यद्यपि हिजो रोकिएको शपथ ग्रहण कार्यक्रमलाई मन्त्री लामाले आज दिउँसो १ बजेलाई सार्नुभएको थियो । बुधबार कांग्रेस संसदीय दलको नेतामा भएको निर्वाचनमा लामा पराजित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ ।