टोपलाल अर्याल
गुल्मी, जेठ ३ गते । धुर्कोट गाउँपालिकाले गाउँ–गाउँमा सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट एक हजार ६९ जनाले सेवा पाएका छन् । शिविरमा पशुसेवा तर्फ ३०५, कृषि सेवा तर्फ ३५६, निशुल्क बिरामी जाँच तथा औषधी वितरण तर्फ ३२१, आर्युवेद उपचार तर्फ ३४३ जनाले सेवा लिएका छन् ।
त्यस्तै ६५ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको धुर्कोट गाउँपालिकाको एम.आइ. एस अपरेटर रमेश पाण्डेयले जानकारी दिनुभयो । अहिले धुर्कोट गाउँपालिका वडा नं १, २, ५, ६ र ७ मा शिविर सञ्चालन गरिएको थियो ।
यसअघि धुर्कोट गाउँपालिका ३ र ४ का बस्तीहरूमा शिविर गरिएको थियो । एकीकृत घुम्ती शिविर गाउँपालिकाको नियमित कार्यक्रम हो । शिविरको सहजीकरण जनविकास केन्द्र र हेफर प्रोजेक्ट नेपालले गरिरहेका छन् । गाउँपालिका तथा वडा कार्यालयबाट हुने दैनिक सेवा प्रवाहलाई थप सरल, सहज र सुविधायुक्त बनाउनका लागि शिविरको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताउनुभयो ।
उहाँले पालिका र वडा कार्यालयको पहुचबाट टाढा रहेका बस्तीहरूमा शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही बस्तीहरू वडा कार्यालयभन्दा पनि धेरै टाढा छन् । अहिले साविकका वडाहरूका पनि गाउँमा शिविर गरेका छौ ।” शिविरकै अवसरका नौ जना जेष्ठ नागरिक र तिन जना अपाङ्गलाई रेडियो र लठ्ठी वितरण गरिएको थियो ।
गाउँ–गाउँमा हुने एकिकृत घुम्ती शिविरबाट फाइदा पुग्ने कयौँ परिवार दुरदराजमा रहेको हेफर प्रोजेक्ट नेपाल धुर्कोटका कार्यक्रम संयोजक भरत भण्डारीले बताउनुभयो । अशक्त, वृद्ध तथा सचेतना अभावको कारण घरबाट बाहिर निस्कन नसकेकाहरूका लागि शिविर अत्यन्तै फलदायी हुने र एकिकृत सेवा हुने भएकाले धेरै लाभांवित हुने भण्डारीले बताउनुभयो ।