शेरबहादुर राई
ओखलढुङ्गा, जेठ ३ गते । प्रजातान्त्रिक आन्दोलनका योद्धा नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ । ओखलढुङ्गा जिल्ला विकास समितिका पूर्व सभापति एवम् नेपाली कांग्रेसका पुराना नेता कोर्मोचाको उपचारका क्रममा गएराति काठमाडौंको बीएन्डबी अस्पतालमा निधन भएको हो ।
वि.सं. २००२ सालमा जिल्लाको खिजीचण्डेश्वरीमा जन्मनु भएका कोर्मोचा २०३१ सालको टिमुरबोटे काण्डमा बचेका जीवित इतिहास हुनुहुन्थ्यो । नेता कर्मोचाले नेपाली राजनीतिमा लामो समय योगदान गर्नुभएको छ । २००७ सालको क्रान्तिमा लगौँटीमा कांग्रेसका चिठी ओसार्ने जिम्मेवारी पाएसँगै सुरु भएको राजनीतिक यात्राले उहाँलाई ओखलढुङ्गा जिल्ला पार्टीको सभापति र तत्कालीन जिल्ला विकास समितिको सभापति बनायो ।
त्यागी र सादगी नेताको पहिचान बनाउनुभएका कोर्मोचाको निमोनिया लगायतका स्वास्थ्य समस्या आएपछि निरन्तर लामो समयदेखि उपचारमा हुनुहुन्थ्यो । कोर्मोचाका हजुरबुवा भूमिगत कांग्रेस कार्यकर्ता भएकाले घरैबाट २००७ सालको क्रान्तिको सुरुवात भएको बताउने कोर्मोचालाई त्यो बेला लगौँटीमा कांग्रेसका चिठी ओसार्ने जिम्मेवारी थियो ।
नेपाली कागजमा तीतेपातीको झोलले लेखेका चिठी बोकेर सुराकी र प्रहरीको आँखा छल्दै तिनका प्रापक खोज्दै ओखलढुङ्गा र रामेछापका गाउँ चहारेर क्रान्तिमा योगदान गरेको उहाँको इतिहास छ । चिठीमा राणाशासनको अवसान गराइछाड्ने कसम कुँदिएका हुन्थे, सङ्घर्षका योजना र भूमिगत कार्यक्रमका फेहरिस्त समेटिन्थे । २०१७ साल पुष १ गते राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध ‘कु’ गरेपछि गाउँ आतङ्कित भएसँगै प्रशासनसँग बच्न गाउँका पन्ध्र जना युवालाई लिएर कोर्मोचा ब्रिटिस आर्मीमा भर्ती हुन धरान जानुभएको थियो ।
ब्रिटिस आर्मीमा कोर्मोचाले आठ वर्ष सेवा गर्नुभएको थियो । त्यसपछि फौज कटौतीमा परेर जागिर छाड्नु परेसँगै फेरि गाउँ फर्किएर राजनीतिमा सक्रिय हुनुभएको थियो ।
२०२५ सालमा नेपाली कांग्रेसले सशस्त्र युद्धको घोषणा गरेपछि ब्रिटिस आर्मीमा काम गरिसकेका महेशको खोजी भएको थियो । त्यो आन्दोलनमा विभिन्न भूमिकामा रहेर कोर्मोचाले काम गर्नुभयो । त्यसबेला सवारी चालक भएको देखि रक्सीको व्यापार समेत गरेर सङ्गठन निर्माण गरेको इतिहास छ ।
२०४६ सालको बहुदलीय व्यवस्था पुनःस्थापनापछि कोर्मोचा दुई पटक जिविस ओखलढुङ्गाको सभापति र दुई पटक ओखलढुङ्गा कांग्रेसको पार्टी सभापति हुनुभएको थियो । बाल्यकाल देखि आबद्ध रहेको कांग्रेस पार्टीमा ७० वर्ष बिताएका कोर्मोचाले २०७३ सालमा कांग्रेस परित्याग गरेर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध हुनुभएको थियो ।
नयाँ शक्ति पनि त्यागेर विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको सहसंयोजक समेत बनेका कोर्मोचा पुनः कांग्रेसमै फर्किएर सक्रिय राजनीति गरिरहनुभएको थियो । लामो राजनीतिक इतिहास बोकेका नेता कोर्मोचाको ८० वर्षको उमेरमा निधन भएको छ ।
नेता कोर्मोचाको निधनले कांग्रेस पार्टी र समग्र ओखलढुङ्गा जिल्लालाई अपुरणीय क्षति पुगेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले बताउनुभयो । कोर्मोचाका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।