• १३ असोज २०८१, आइतबार

दस पालिकाको बजेट साढे पाँच अर्ब

blog

बैतडी समाचारदाता 

बैतडी, असार १२ गते । बैतडीका चार नगरपालिका र छ वटा गाउँपालिका गरी १० वटा स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबाट कुल पाँच अर्ब ४८ करोड रुपियाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । 

दशरथचन्द नगरपालिकाले आगामी आवका लागि ८८ करोड ४५ लाख ९२ हजार, पुर्चौडी नगरपालिकाले ६२ करोड चार लाख ९९ हजार, पाटन नगरपालिकाले ६३ करोड ४७ लाख २२ हजार,  मेलौली नगरपालिकाले ४९ करोड पाँच लाख ९५ हजार बजेट ल्याएका छन् । 

त्यस्तै शिवनाथ गाउँपालिकाले ३५ करोड २३ लाख ३८ हजार, दोगडाकेदार गाउँपालिकाले ५१ करोड २० हजार, सिगास गाउँपालिकाले ४५ करोड ४२ लाख, सुर्नया गाउँपालिकाले ५१ करोड ६२ लाख ७४ हजार, पञ्चेश्वर गाउँपालिकाले ४० करोड ४२ लाख ८१ हजार र डिलासैैनी गाउँपालिकाले ६० करोड ८३ लाख ४० हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । 

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था अनुसार यहाँका सबै स्थानीय तहले बजेट ल्याएका हुन् । 

स्थानीय तहको बजेटमा अधिकांश स्थानीय तहले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएका छन् । पञ्चेश्वर गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । 

मङ्गलसेनको बजेट ६१ करोड 

अछाम समाचारदाताका अनुसार सदरमुकामस्थित मङ्गलसेन नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६१ करोड तीन लाख रुपियाँको अनुमानित बजेट पारित गरेको छ । उपप्रमुख सङ्गीताकुमारी रावलले ६१ करोड तीन लाख ५५ हजारको आयव्यय प्रस्तुत गर्नुभएको हो । नगर सभाबाट एकै दिनमा प्रस्तुत गरेर पारित गरिएको बजेटमा साधारण तथा प्रशासनिक खर्चतर्फ १० करोड ३० लाख विनियोजन गरिएको छ । आगामी आवका लागि साधारण र प्रशासनिकतर्फको ससर्तमा २३ करोड २९ लाख रुपियाँ छ । 

नगरपालिकाले विकासमा २७ करोड १२ लाख रुपियाँ आगामी आवमा खर्च गर्ने गरेर रकम विनियोजन गरिएको छ । बजेटलाई क्षेत्रगत र वडागत रूपमा विनियोजन गरिएको छ । यस नगरपालिकाले चालु आव २०८०/८१ मा ५९ करोड आठ लाख ६७ हजारको बजेट ल्याएको थियो ।

सङ्घीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान र नगरको आन्तरिक आयको अनुमान गरेर नगरले बजेट ल्याएको हो । आइतबार नगर सभामा नगर प्रमुख पदमबहादुर बोहोराले नगरको नीति तथा कार्यक्रम प्रस्तुत गरेर सोमबार नगर सभाले पारित गरेको थियो । अछामका अन्य नौ स्थानीय तहले पनि नीति तथा कार्यक्रम र बजेट ल्याउने क्रममै रहेका छन् । 

कैलारीमा सतहत्तर करोड 

धनगढी समाचारदाताका अनुसार कैलाली जिल्लाको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७७ करोड २१ लाख १२ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष भगवतीकुमारी चौधरीले सोमबार गाउँ सभामा आगामी आवको अनुमानित आयव्यय प्रस्तुत गर्नुभएको हो ।

आयतर्फ सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १३ करोड ८२ लाख, राजस्व बाँडफाँट १३ करोड छ लाख, ससर्त कार्यक्रम ३८ करोड ६४ लाख आठ हजार गरी कुल ६५ करोड ५२ लाख आठ हजार रुपियाँ रहेको जनाइएको छ । यसै गरी प्रदेश सरकारबाट समानीकरण अनुदान एक करोड २९ लाख ६० हजार, राजस्व बाँडफाँट ४५ लाख सात हजार, समपूरक अनुदान ९२ लाख, विशेष अनुदान ३० लाख गरी कुल दुई करोड ९६ लाख ६७ हजार रुपियाँ प्राप्त हुने जनाइएको छ । 

यस्तै गाउँपालिकाको आन्तरिक आम्दानी दुई करोड छ लाख ५० हजार र चालु आवको बैङ्क मौज्दात ५० लाख रुपयिाँ रहने उपाध्यक्ष चौधरीले बताउनुभयो । गाउँपालिकाले कार्यालय सञ्चालनका लागि नौ करोड ३७ लाख २१ हजार, समपूरक कोषका लागि छ करोड, बाँकी भुक्तानीका लागि ८० लाख, भूमिगत व्यवस्थापनका लागि ३० लाख, डिपिआरका लागि २० लाख, खेलकुद कार्यक्रमका लागि ३२ लाख रुपियाँ विनियोजन गरेको छ । 

स्वास्थ्य बिमाका लागि आर्थिक सहयोग गर्न सात लाख, विद्युतीय सुशासन तथा सूचना प्रविधि कार्यक्रमका लागि सात लाख, अध्यक्ष रोजगार र उपाध्यक्ष समावेशी कार्यक्रमका लागि १५/१५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।  आर्थिक विकास समितिका लागि एक करोड, सामाजिक विकास समितिका लागि चार करोड, वन वातावरण तथा विपत् व्यवस्थापनका लागि ५२ लाख, पूर्वाधार विकासमा एक करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । 

घोडाघोडीको बजेट घट्यो 

घोडाघोडी समाचारदाताका अनुसार घोडाघोडी नगरपालिकाको १९ औँ नगर सभा  तथा बजेट अधिवेशन सोमबारबाट सुरु भएको छ । सभामा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ । बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा उपप्रमुख गुलियाकुमारी चौधरीले आव २०८१/८२ का लागि विनियोजन विधेयक प्रस्तुत गर्नुभएको छ । 

उहाँले ९७ करोड ४४ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभयो ।  सङ्घ, प्रदेश र नगरपालिकाको प्रस्तुत कुल बजेटमध्ये नगरपालिकाको आन्तरिक स्रोत आय १२ करोड रुपियाँ मात्र छ । बजेटमा वडालाई अलग अलग बजेट छुट्याइएको छ । चालु आवको भन्दा करिब तीन करोड बजेट घटेर आएको छ । 

उपप्रमुख चौधरीले दिगो विकास, उत्पादनमा आत्मनिर्भर, रोजगारी सिर्जना, व्यावसायिक कृषि, सर्वसुलभ शिक्षा, सबैको स्वास्थ्यमा पहुँच, प्रविधिमैत्री सेवा बजेटको मुख्य उद्देश्य रहेको बताउनुभयो । नगरप्रमुख खडकबहादुर रावतले आगामी वर्षका लागि तयार गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । उहाँले नगरभित्रको कृषि, पशु, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, भौतिक विकासलगायत समग्र क्षेत्रलाई समेट्ने गरेर तयार गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेको दाबी गर्नुभयो । प्रस्तुत नीति तथा कार्यक्रममा छुटेका विषयलाई समेट्न सभाका सदस्यले सुझाव दिएका छन् ।