• १३ असोज २०८१, आइतबार

अफगानिस्तान विश्वकप क्रिकेटको सेमिफाइनलमा

blog

सेमिफाइनल पुगेपछि अफगानिस्तानको खुशी । तस्बिरः क्रिकइन्फो

काठमाडौँ, असार ११ गते। अफगानिस्तान आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टको किङ्सटाउन मैदानमा मंगलबार भएको खेलमा बङ्गलादेशलाई डकवर्थ एण्ड लुइस (डीएलएस) पद्धतिका आधारमा आठ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो। 

यस खेलसँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोलीको समीकरण पूरा भएको छ। सुपर आठको पहिलो समूहबाट भारत शीर्ष र अफगानिस्तान दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेका छन् भने दोस्रो समूहबाट दक्षिण अफ्रिकाका शीर्ष र इङ्गल्यान्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका छन्। 

मंगलबारका खेलमा अफगानिस्तानले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय पाँच रनमा समेटियो। बङ्गलादेशका ओपनर लिटन दासले ५४, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाउनुभयो। 

अफगानिस्तानका लागि कप्तान राशिद खान र नवीन उल हकले समान चार/चार विकेट लिनुभयो भने फजलहक फारुकी र गुलबदिन नाबीले समान एक/एक विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो। अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्बाजले सर्वाधिक ४३ रनको योगदान दिनुभयो  भने कप्तान राशिद खानले १९ रन बनाउनुभयो। त्यसैगरी इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० तथा करिम जन्नतले ७ रन जोड्नुभयो।

बङ्गलादेशका लागि रिशाद होसैनले तीन विकेट लिँदा तस्किन अहमेद र मुस्ताफिर रहमानले समान एक/एक विकेट हात पार्नुभयो।

सेमिफाइनलको पहिलो खेल यही असार १३ गते अफगानिस्तान र दक्षिण अफ्रिकाबिच नेपाली समयअनुसार बिहान ६:१५ बजे हुनेछ भने दोस्रो खेल सोही दिन राति ८:१५ बजे भारत र इङ्ग्लयाण्डबिच हुनेछ आइसिसीले जनाएको छ।