• २ असोज २०८२, बिहिबार

पहिरो गएपछि एघार घरपरिवार विस्थापित

blog

मैवाखोला गाउँपालिका–६, फाकुम्बास्थित पहिरोको जोखिममा परेको एक घर ।

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोका कारण ११ परिवार विस्थापित भएका छन् भने एक दर्जन घर उच्च जोखिममा परेका छन् । पछिल्लो केही दिनयतादेखि निरन्तर वर्षा भएका कारण विभिन्न वडामा पहिरो जाँदा स्थानीय बासिन्दा विस्थापित हुनुका साथै एक दर्जन परिवार पहिरोको जोखिममा परेका हुन् ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार वडा नं. २ ढुङ्गेसाँघु, वडा नं. ४ साँघु तथा वडा नं. ५ र ६ फाकुम्बामा पहिरोले क्षति गरेको हो । पहिरोका कारण ढुङ्गेसाँघुमा दुई घरपरिवार विस्थापित भएका अध्यक्ष वनेमले जानकारी दिनुभयो । यस्तै वडा नं. ४ साँघुमा पाँच घर पहिरोको उच्च जोखिममा परेका छन् । त्यस्तै वडा नं. ५ मा एक घर विस्थापित र सात घर जोखिममा परेका छन् । वडा नं. ६ मा भने पहिरोका कारण आठ घरपरिवार विस्थापित भएका अध्यक्ष वनेमले जानकारी दिनुभयो । गएको बुधबार वडा नं. ६, फाकुम्बाको भित्तेमा पहिरोमा परी ६० वर्षीय लाक्पाखाङ्डु शेर्पा र ५५ वर्षीय मिङ्मालाकी शेर्पाको मृत्यु भएको थियो । 

अध्यक्ष वनेमका अनुसार भित्ते बस्तीमाथि मुढेडाँडाबाट झरेको पहिरोले लाक्पाखाङ्डु शेर्पाको घर बगाउँदा लाक्पाखाङ्डु र छिमेकी मिङ्मालाकीको मृत्यु भएको हो । यसै गरी पहिरोले पालिकाभित्रका विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । अध्यक्ष वनेमसहितको टोलीले पहिरोले क्षति पु-याएको क्षेत्रको मङ्गलबार अनुगमन तथा निरीक्षण गरेको छ । सुरक्षा निकायका प्रतिनिधिसमेत संलग्न रहेको टोलीले अनुगमन गरेको र पीडित परिवारलाई भेट गरी धैर्य र संयम हुन आग्रह गरिएको गाउँपालिका अध्यक्ष वनेमले बताउनुभयो । यता पहिरोले क्षतिग्रस्त भएका सडक तत्काल सञ्चालनमा आउने स्थिति नभएको पनि गाउँपालिकाले जनाएको छ । वर्षाको व्रmम जारी रहेको र पहिरोको सम्भावना पनि कायम नै रहेकाले सुरक्षित र सतर्कता अपनाउन पालिकावासीलाई गाउँपालिकाले आग्रह गरेको छ ।