• २ असोज २०८२, बिहिबार

सलसेनामा पुनः पहिरो : महाकाली लोकमार्ग अवरुद्ध

blog

दोगडाकेदार गाउँपालिका–५ स्थित सलसेनामा पुनः पहिरो खस्दा अवरुद्ध भएको महाकाली लोकमार्ग । तस्बिर : केशब राज भट्ट

केशव राज भट्ट 
वाशुलिङ (बैतडी), असोज २ गते ।
बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–५ स्थित सलसेनामा पुनः पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । गएराति भीषण वर्षापछि सडक खण्डमाथिबाट खसेको पहिरोका कारण सवारी साधनहरू आवतजावत गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

पहिरोका कारण तराईबाट दार्चुलातर्फ गइरहेका तथा दार्चुलाबाट तराईका लागि छुटेका सवारी साधनहरू बिच बाटोमै रोकिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि स्थानीय प्रशासनले मालिकार्जुन क्षेत्रबाट डोजर (जेसीबी) ल्याएर पहिरो पन्छ्याउने तयारी थालेको उहाँले बताउनुभयो । सडक खुलाउन यतिबेला डोजरको प्रतीक्षा भइरहेको छ, पहिरोको परिमाण धेरै भएकाले तत्काल पन्छ्याउन कठिन भइरहेको प्रहरी निरक्षक बडूले बताउनुभयो । यसअघि पनि मङ्गलबार बिहान सोही स्थानमा पहिरो खसेर लोकमार्ग ११ घण्टासम्म अवरुद्ध भएको थियो । राति ८ बजेपछि मात्र सडक सुचारु गरिएको थियो । तर निरन्तरको वर्षाका कारण सो क्षेत्रबाट बारम्बार पहिरो खस्ने समस्या दोहोरिरहेको छ ।

सडक अवरुद्ध हुँदा यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन् । स्थानीय प्रशासनले यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।