• १४ असार २०८१, शुक्रबार

यात्रुलाई सास्ती र जोखिम

blog

बोमलाल गिरी

नवलपुर, असार ११ गते । “बाढीपहिरो रोकथामका लागि जिल्लाबाट पाँच हजारभन्दा बढी तारजालीको माग आएको छ तर हामीसँग करिब तीन सय तारजाली खरिद गर्न सक्ने मात्र रकम छ । त्यति पैसाको सम्झौता गरेर खरिद गर्न त सकिन्छ तर माग कैयौँ गुणा बढी भएकाले कसरी सम्बोधन गर्ने भन्ने मात्र चिन्ता छ,” जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नवलपुरका प्रमुख दीपा गौतमले भनेका यी वाक्यले जिल्लामा विपत् न्यूनीकरणको तयारी कस्तो छ भन्ने छर्लङ्ङ हुन्छ ।

मनसुन भित्रिएर बर्खा लागेसँगै देशभर बाढीपहिरोको जोखिम पनि भित्रिएको छ । यतिबेला सरकारका हरेक तह र जिम्मेवार निकायले विपत् न्यूनीकरणका लागि तयारी अवस्थामा रहनुपर्ने हो तर बाढीपहिरो नियन्त्रणका लागि चाहिने महìवपूर्ण सामग्रीमध्येको एक तारजालीको अवस्था यस्तो हुनुले सरकारको तयारी पर्याप्त छैन भन्ने देखिन्छ । 

मौसमविद्ले यस पटक सामान्यतया अधिक वर्षा हुने पूर्वानुमान गरेका छन् । वर्षा बढी हुनेबित्तिकै त्यसले बाढीपहिरोको जोखिम पनि बढी निम्त्याउँछ । त्यसैले जिल्लामा विपत् न्यूनीकरणका लागि अहिलेसम्मको तयारी र अब अपनाउनुपर्ने सतर्कताका बारेमा प्रायः सबै सरकारी निकायका प्रमुख र जनप्रतिनिधिले आफूहरू तयारी अवस्थामा रहेको बताएका छन् तर तयारी कत्तिको पर्याप्त हो भन्ने कुरा त विपत्पछिको जोखिमले देखाउने छ ।

नवलपुरको मध्यवर्ती क्षेत्रमा नारायणी नदीको कटान तथा विनयी त्रिवेणी, हुप्सेकोट, बुलिङटार र बौदीकाली गाउँपालिकामा ठाडो खोलाको कटान र पहिरोको जोखिम उच्च छ । 

नवलपुरको आन्तरिक यात्रा र पूर्वपश्चिमका लागि नवलपुर हुँदै यात्रा गर्दा अहिले सबैको टाउको दुखाइको विषय बनेको छ तरङ्गा खोलाको पहिरो, केरुङ्गे खोलाको पुल र दाउन्नेको जाम । गैँडाकोट र बुलिङटारको सिमानामा रहेको तरङ्गा खोलाको पहिरो र पहिरोका कारण पुल बन्न नसक्दा यात्रा त्रासदीपूर्ण मात्र होइन, पानीपर्दा वा नपर्दा पनि झरिरहने पहिरोले कालीगण्डकीको यात्रा निकै कठिन बनाएको छ । 

पहिरोका कारण खोलामा पुल बन्न सकेको छैन । पहिरोले तरङ्गा खोला नै थुनिन सक्ने र त्यसले पुल पनि क्षति हुन सक्ने भएकाले जग हालेर पनि पुल बनाउने काम अघि बढ्न नसक्दा यसले नारायणगढको मुख गैँडाकोट हुँदै पाल्पा, स्याङ्जा, पोखरा र बुटवलका लागि वैकल्पिक मार्गका रूपमा रहेको कोरिडोरको यात्रा जोखिमपूर्ण बनाएको छ । 

कावासोती नगरपालिका–४ र ५ को सिमाना भएर बग्ने केरुङ्गे खोलामा निर्माणाधीन पक्की पुल विगत लामो समयदेखि ठेकेदार कम्पनीको लापर्बाहीले अलपत्र अवस्थामा छ । उक्त पुल समयमै निर्माण नहुँदा वर्षाको समयमा हिँडडुल गर्न कठिनाइ मात्र होइन बर्खामा पहाड र सदरमुकामको सम्पर्क विच्छेद हुन सक्ने जोखिम रहेको बताउनुहुन्छ वडा नं. ४ का अध्यक्ष नारायण लोहनी । २०७५ सालमा कावासोतीको वडा नम्बर ४ र ५ को सिमानामा रहेको केरुङ्गे खोलाको पुल निर्माणका लागि निर्माण कम्पनी एड्भेन्चर कन्स्ट्रक्सन कम्पनीले जिम्मा लिएको थियो तर अहिलेसम्म पनि पुल निर्माणको काम सकिएको छैन । 

त्यस्तै नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने खण्डको १४ किलोमिटर सडक, जहाँ पहिरोको उच्च जोखिम छ भने डाइभर्सनको कुनै विकल्प नभएकाले हिउँदमा समेत जामको मार खेप्नु परेका यात्रुले वर्षामा झनै समस्या खेप्नुपर्ने स्पष्टै छ । नवलपुर र नवलपरासी दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले दाउन्ने खण्डमा पहिरोका कारण जाम भए एक घण्टाभित्र खुलाइसक्ने गरी तयारी अवस्थामा बस्न निर्देशन त दिनुभएको छ तर कत्तिको कार्यान्वयन हुन्छ हेर्न बाँकी छ । 

सरकारको यसखालको तयारीले विपत् न्यूनीकरणका लागि पूर्वसावधानी कमजोर रहेको बताउनुहुन्छ हुप्सेकोट गाउँपालिकाका स्थानीय अगुवा डिलबहादुर सिँजाली । 

विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले आफ्नो पालिकामा बाढीपहिरोको जोखिम उच्च रहे पनि आफूहरू तयारी अवस्थामा रहेको बताउनुभयो । जङ्गल र नदीजन्य पदार्थको टसलले समस्या निम्त्याउने गरेको भन्दै गिरीले यो समस्या समाधान गर्न ध्यान दिने हो भने विपत् न्यूनीकरण गर्न सकिने बताउनुभयो । त्यसका लागि हरेक पालिकाले कम्तीमा एक करोड रुपियाँ विनियोजन गर्नुपर्ने उहाँको भनाइ छ ।