• १३ असोज २०८१, आइतबार

सडकले वालिङको रूप फेरिँदै

blog

सिद्धार्थ राजमार्ग अन्तर्गतको वालिङ सडकखण्डमा कालोपत्रे गरिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

वालिङ समाचारदाता

वालिङ, असार ११ गते । स्याङ्जाको वालिङ नगरपालिका क्षेत्रभित्र सडक कालोपत्रेले तीव्रता पाएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ नगरपालिकाको क्षेत्रभित्र कालोपत्रे गर्न सुरु गरिएको छ । तत्कालीन नगरप्रमुख दिलीपप्रताप खाणको सक्रियतामा बजार क्षेत्रको सडक चौडा पारिएको थियो । चौडा पारिएको सडकको छेउ र कुनामा कालोपत्रे गर्न सुरु गरिएको हो । 

सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर ध्रुव पोख्रेलका अनुसार पहिलो चरणमा बजार क्षेत्रको सडकलाई कालोपत्रे गर्ने काम भइरहेको छ । राजमार्ग चौडा भए पनि चार वर्षदेखि राजमार्गको वालिङ सडकखण्ड अस्तव्यस्त थियो । बजार क्षेत्रमा सडक कालोपत्रे भएसँगै वालिङ बजारको रूप नै फेरिएको छ । चौडा सडक भएका कारण सम्भावित दुर्घटनाको जोखिम कम भएको छ भने पैदलयात्रुलाई समेत सहज भएको छ । नगरपालिकाले राजमार्ग अन्तर्गत आफ्नो क्षेत्रमा कालोपत्रे गरिदिन सडक विभागसँग अनुरोध गर्दै आएको थियो । २०७८ सालमा वालिङ सडकखण्डका १५ भन्दा धेरै घुम्ती कटान गरिएको थियो । यस्तै सडकसँगै जोडेर बनाइएका अस्थायी संरचना भत्काइएको थियो । 

नगरपालिकाले आफ्नै बजेटमा राजमार्ग चौडा गरेको हो । वालिङ खण्डमा लामो समयको प्रतीक्षापछि कालोपत्रे सुरु भएको भन्दै स्थानीय खुसी भएका छन् । वालिङ नगरपालिका–१० का शिवप्रसाद पराजुली भन्नुहुन्छ, “अहिले त सडकको स्वरूप नै फरिएको छ ।” होटल भेनसका सञ्चालक पराजुलीले सडक कालोपत्रे भएपछि बजारवासी मात्रै नभई राजमार्गमा यात्रा गर्नेलाई पनि सहज हुने बताउनुभयो । नगरप्रमुख कृष्ण खाणले पहिलो चरणमा बजार क्षेत्र र बिस्तारै पालिका क्षेत्रभित्रको राजमार्ग सबै कालोपत्रे गरिने बताउनुभयो । अस्तव्यस्त सडकका कारण अब नागरिकले हैरानी खेप्नु नपर्ने नगर उपप्रमुख कविता तिवारी गैरेको भनाइ छ । उहाँका अनुसार पालिकाले भित्री सडकसमेत कालोपत्रे र व्यवस्थित गर्दै आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बाँयटारीदेखि बयरघारीसम्मको १८ किलोमिटर सडकको चौडा भाग कालोपत्रे गरिने इन्जिनियर पोख्रेलले बताउनुभयो । दर्शन राङखोला जेभीसँग छ करोड ८९ लाखमा भएको सम्झौता अनुसार २०८१ मङ्सिरसम्ममा काम सम्पन्न गर्नुपर्ने हुन्छ । बजारबाहेक सडक चौडा बनाइएको अन्य क्षेत्रमा समेत कालोपत्रे गर्न स्थानीयको माग छ । वालिङ नगरपालिका–१ का अध्यक्ष तथा नगर प्रवक्ता पदमराज गुरुङले बजार क्षेत्र सकेपछि बिस्तारै राजमार्गको अन्य भागमा समेत सडक कालोपत्रे गरिनुपर्नेमा जोड दिनुभयो ।