• १४ असार २०८१, शुक्रबार

घोडाघोडीको बजेट ९७ करोड ४४ लाख ८७ हजार

blog

घोडाघोडी नगरपालिकाको बजेट प्रस्तुत गर्नुहुँदै गुलियाकुमारी चौधरी । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य
घोडाघोडी(कैलाली) असार १० गते । 
कैलालीको घोडाघोडी नगरपालिकाको १९औँ नगर सभा  तथा बजेट अधिवेशन सोमबारबाट सुरु भएको छ । सभामा आर्थिक वर्ष २०८१/०८२को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ ।

बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा उपप्रमुख गुलियाकुमारी चौधरीले आर्थिक वर्ष २०८१/०८२ कोलागि विनियोजन विधेयक प्रस्तुत गर्नुभएको छ । उहाँले ९७ करोड ४४ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभयो । सङ्घ, प्रदेश र नगरपालिकाको प्रस्तुत कुल बजेटमध्ये नगरपालिकाको आन्तरिक स्रोत आय १२ करोड रुपियाँ मात्र रहेको छ ।

बजेटमा वडालाई अलग अलग बजेट छुटाइएको छ । चालु आर्थिक वर्षको भन्दा करिब तीन करोड बजेट घटेर आगामी वर्षको बजेट सार्वजनिक भएको छ । उपप्रमुख चौधरीले दिगो विकास, उत्पादनमा आत्मनिर्भर, रोजगारी सृजना, व्यावसायिक कृषि, सर्वसुलभ शिक्षा, सबैको स्वास्थ्यमा पहुँच, प्रविधि मैत्री सेवा बजेटको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

नगरप्रमुख खडकबहादुर रावतले आगामी वर्षका लागि तयार गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । उहाँले नगरभित्रको कृषि, पशु, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, भौतिक विकास लगायत समग्र क्षेत्रलाई समेट्नेगरी तयार गरिएको नीति कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत नीति तथा कार्यक्रममा छुटेका विषयलाई समेट्न सभाका सदस्यहरूले सुझाव दिएका थिए ।