• १३ साउन २०८१, आइतबार

भविष्यका सहरी चुनौती सामना गर्ने नीति र संयन्त्र बनाउनुपर्छ : प्रमुख शाह

blog

प्रमुख बालेन्द्र शाह स्वदेश फर्किएपछि मेट्रोपोलिस निर्देशक समितिको बैठकबारे संक्षिप्त प्रतिक्रिया दिनुहुँदै । तस्बिर : काठमाडौँ महानगरपालिका

काठमाडौँ, असार ८ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर शनिबार स्वदेश फर्कनुभएको छ । बैठकमा भाग लिन उहाँ असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गर्नुभएको थियो ।

स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति बहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘‘ठुला सहर केन्द्रित बसाइसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्छ । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक-फरक ठाउँका सहरहरूको समस्या फरक हुन सक्छन् । यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् । बैठकमा यसका नीतिगत पक्षमा छलफल भयो ।’’

निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते भएको थियो । बैठकसँगै प्रमुख शाहले ‘मेयरल राउण्ड टेबल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा सहरका भवन तथा बसोबास व्यवस्थापनका विषयमा धारणा राख्दै, ठुला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर र सहर जीवनयापनका सुविधाहरू नजिक रहेका सहरहरूमा पुर्‍याएर, ठुला सहरमा केन्द्रीकृत हुँदै गएको जनसङ्ख्याको चाप घटाउन थाल्नुपर्ने बताउनुभएको थियो । 

‘‘बसाइसराइले सहरी चाप बढ्ने मात्र होइन । गाउँठाउँका मौलिक संस्कृति पनि नासिन्छन् । भाषा पनि नासिन्छ । ग्रामीण जीवनसँग जोडिएका विविध आयाम जोगाउन पनि यस्ता नीतिको खाँचो छ ।’’ उहाँको भनाइ छ ।

नीति बहस सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रित थियो । बहसमा ठुला महानगरपालिकाका प्रमुखहरू सहभागी हुनुहुन्थ्यो ।

सहरी आवास र भवनहरूको विषय निर्देशक बोर्डमा छलफलका मुख्य विषय छन् । बैठकमा सहरी आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज बसोबाससँग सम्बन्धित विषयमा छलफल भइरहेको छ ।

प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुनुहुन्छ । मेट्रोपोलिस विश्वका ठुला १५० भन्दा धेरै महानगरहरूको आबद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।  

बैठकमा भाग लिन प्रमुख शाह असार ३ गते ब्राजिल प्रस्थान गर्नुभएको हो । बैठक सकेर उहाँ असार ८ गते शनिवार स्वदेश फर्कनुहुनेछ । उहाँसँग पूर्वाधार सल्लाहकार सुनिल लम्साल हुनुहुन्छ ।