• २० असार २०८१, बिहिबार

सुन्दर अक्षरले संसार चिनायो

blog

काठमाडौं,  असार १८ गते । प्रकृति मल्ल सुन्दर अक्षरका धनी व्यक्तित्व हुन् । उहाँको अक्षरको प्रशंसा शिक्षक, अभिभावक र नजिकका साथीभाइले त गर्थे नै विश्व हस्तलेखन प्रतियोगितामा सफल भएपछि उहाँको प्रशंसा विश्वभर फैलियो ।

उहाँ  भक्तपुरस्थित वीरेन्द्र सैनिक महाविद्यालयमा कक्षा चारदेखि पढ्नुभएको हो । सन् २०१६ मा संयुक्त राज्य अमेरिकाको अल्बानियामा आयोजित वर्ल्ड हेन्डराइटिङ कन्टेस्टमा उहाँले सर्वोत्कृष्ट स्थान हासिल गर्नुभयो । यसैगरी, अल नेपाल ह्याण्डराइटिङ कन्टेस्टमा प्रथम हुनुभयो । 

उहाँले भन्नुभयो, “सुन्दर हस्तलेखनमा लिखित कागजपत्रहरु हेर्दै आकर्षित भइन्छ । विद्यालयमा मलाई पढाउनुहुने गुरुवर्ग, घरपरिवारमा मेरो आमाबुवा उहाँहरुको अक्षर निकै राम्रो छ । त्यो देखेर पनि सुन्दर अक्षर कस्तो हुन्छ भनेर मैले देख्न पाएँ । त्यसपछि त्यही अनुसारको अक्षर बनाउनका लागि निरन्तर प्रयासमा लागें ।”

प्रकृति साहित्यमा पनि रुचि राख्नुहुन्छ । यसकारण कहिलेकाही कथा, कविता र निबन्ध लेख्ने गर्नुभएको छ । 

यति सुन्दर अक्षर बनाउनका लागि कसरी अभ्यास गर्नुहुन्छ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “पहिला जुन तरिकाले शिक्षकहरुले सिकाउनुभयो, त्यो तरिकाले फन्टहरु लेख्न अलि समय लाग्थ्यो । निरन्तरता दिँदै गर्दा एउटा साधना पनि भयो ।”

उहाँले पढाइ, लेखाइमा सफलताको श्रेय आफ्नो परिवारलाई दिनुभयो । उहाँले भन्नुभयो, “अक्षरको माध्यमबाट संसारमा यसरी चिनिन पाउँदा मलाई निकै गर्व महसुस भएको थियो । कुनै किसिमको कलालाई सही तरिकाले व्यक्त गर्दा सबै जनाले सम्मान गर्नुहुँदोरहेछ भन्ने कुरा मलाई यतिबेला महसुस भयो ।”

‘वल्र्ड हेन्डराइटिङ कन्टेस्ट २०१६ का विजेता प्रकृति मल्लसँग गोरखापत्र अनलाइनका लागि सपना थामीकेशब गुरुङले गर्नुभएको तयार पार्नुभएको भिडियो संवाद :


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।