• १४ असार २०८१, शुक्रबार

मिरकोटमा दुना टपरी बनाउने उद्योग सञ्चालन

blog

गुणबहादुर रोका 

सुलीकोट, असार ७ गते । गोरखाको पालुङटार नगरपालिका मिरकोटमा दुना टपरी बनाउने उद्योग सञ्चालनमा आएको छ । पालुङटार नगरपालिका-१० मिरकोटमा जिल्लाकै सबैभन्दा बढी सालका रुखहरु भएको वडा भएकाले पनि त्यस वडाका दिदी बहिनीलाई उद्यमी बनाउन सहयोग पुग्ने हेतुले २ वटा महिला सञ्जाल भएर दुना टपरी बनाउने उद्योग सञ्चालन गर्न लागिएको वडा न १० का वडाध्यक्ष रिखीराज धौरालीले जानकारी दिनुभयो ।

वडा कार्यालयबाट विनियोजित तीन लाख ५० हजार बजेटबाट सालको पातको दुना टपरी बनाउने मेसिन खरिद गरिएको हो । वडाभित्रका २ वटा महिला सञ्जालमध्येबाट २५ जनालाई ७ दिनसम्म दुना टपरी बनाउने तालिम दिएपछि दुना टपरी बनाउन सक्ने हुनुभएको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताउनुभयो । 

महिला उद्यमीले उत्पादन गरेको दुना टपरी पालुङटार नगरपालिकाले बजारीकरणको सम्पूर्ण व्यवस्था गर्ने भएको छ । त्यस दुना टपरीको मूल्य भने वडा कार्यालयले निर्धारण गर्नेछ । अहिले वडा कार्यालयलाई २ वटा मेसिन खरिद गरी ल्याइएको छ । 

उद्योग सञ्चालन भएपछि फुर्सदको समयमा महिला दिदीबहिनीहरुले नजिकै रहेको जङ्गलबाट सालको पात, बाँसको सिन्का बनाउने कामले पनि दिदी बहिनीहरुलाई थप हौसला मिल्ने विश्वास लिइएको छ । 

गाउँमा रहेका बेरोजगार महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले पनि मेसिन खरिद गरिएको नगरपालिकाका मेयर विवश चिन्तनले बताउनुभयो । उहाँका अनुसार अहिले गाउँघरका प्रत्येक घर घरमा विवाह, व्रतबन्ध, पास्नी, पूजापाठ, मेला महोत्सवमा जता जाँदा पनि अत्यधिक मात्रामा बाहिरबाट ल्याइएका प्लाष्टिका भाँडाहरु व्यापक प्रयोग भएको पाइएकाले नगरपालिकाले त्यसलाई अन्त्य गर्न दुना टपरी मेसिन खरीद गरिएको जानकारी दिनुभयो । 

आगामी वर्ष नगरपालिकाले सालका रुख प्रसस्त हुने वडाहरुमा नगरपालिकाले बजेट छट्टाएर मेसिन खरीद गरी बितरण गर्ने योजना रहेको उहाँको भनाइ छ । अहिले पालुङटार १० मिरकोटका महिला सञ्जालले उत्पादन गरेको दुना टपरी २० हजारभन्दा बढी उत्पादन भइसकेको साथै निरन्तर रुपमा थपिँदै जाने पनि वडाध्यक्ष धौरालीले बताउनुभयो । 

पालुङटार नगरपालिकाले जिल्लाको अजिरककोट गाउँपालिकासँग दुना टपरी खरिद समबन्धी सम्झौता भएकाले पनि बजारीकरणको कुनै पनि समस्या नभएको हो । आर्थिक रुपमा आम्दानी हुने भएपछि महिला सञ्जालहरुले सक्रिय रुपमा दुना टपरी उत्पादन काममा लागि परेका वडाध्यक्ष धौरालीको भनाइ छ । स्थानीय रुपमा उत्पादन भएका दुना टपरीले बाहिरबाट ल्याइएका प्लाष्टिकका सामानहरु धमाधम विस्थापित भएको वडा अध्यक्ष धौरालीको भनाइ छ ।