• ३ जेठ २०८२, शनिबार

हुलाकी लोकमार्ग निर्माणकाे माग गर्दै बाटो अवरुद्ध

blog

हुलाकी लोकमार्गअन्तर्गत राजविराज–कञ्चनपुर सडक खण्डको राजविराजमा कालोपत्रको माग गर्दै बाटो अवरुद्ध । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, जेठ ३ गते । हुलाकी लोकमार्गमा सडक निर्माण ५ वर्ष बितिसक्यो तर पनि पूर्णरूपमा सडक अझै बन्न सकेको छैन । शनिबार राजविराज २ मा सडक निर्माणको माग गर्दै स्थानीयले विरोध गरेका छन् । 

हुलाकी लोकमार्गअन्तर्गत सप्तरीको राजविराज–कञ्चनपुर जोड्ने सडक कालोपत्र नगरी अलपत्र अवस्थामा छोडिँदा स्थानीयहरूले बाटो अवरुद्ध गरेको हो । राजविराज सडक खण्डमा करिब दुई किलोमिटर सडकसमेत कालोपत्रे हुनसकेको छैन । बज्रगुरु निर्माण सेवा जेभीको ठेक्कामा रहेको यो सडक कालोपत्र नहुँदा सुक्खा याममा धुलो र वर्षातमा हिलोको समस्या भइरहेको स्थानीय शङ्कर दासले गुनासो गर्नुभयो ।  

राजविराजबाट जिल्लाको पूर्वमा महेन्द्र लोकमार्ग जोड्ने तिरहुत गाउँपालिका, कञ्चरूप नगरपालिका, सप्तकोसी नगरपालिका र उदयपुर जिल्लाको पूर्वी भेकका लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा अवरोध हुने गरेको उहाँले बताउनुभयो । 

यस्तै तिरहुत गाउँपालिका–५ बुधेवामा पुल निर्माण भए पनि त्यससँग जोडिएको एक किलोमिटर सडक कालोपत्र गर्न  ढिलाइ भएको छ । हुलाकी सडक योजनाको निर्माण कम्पनी बज्र गुरुका प्रतिनिधि कुशकुमार उपाध्यायका अनुसार राजविराज नगर क्षेत्र भित्र सिमा विवादको कारण काम गर्न ढिलो भएको हो । 

विवाद रहित क्षेत्रमा सडक निर्माणको काम ७५ प्रतिशत पूरा भइसकेको जानकारी दिनुहुँदै उहाँले राजविराजस्थित कोशी पम्प नहरदेखि हनुमानमन्दिर सम्मको सडक निर्माण कार्यको विवादको कारण करिब २ किलोमिटर मात्र सडक निर्माण हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले अहिले नाला निर्माणको काम सम्पन्न भएपछि सडक कालोपत्रेको काम तयारी अवस्थामा रहेको बताउनुभयो । 

उहाँले २०७५ सालदेखि प्रारम्भ गरिएको सडक निर्माण कार्य स्थानीयको अवरोध र पुल निर्माण समयमा नभएको कारण सडक निर्माण ५ वर्ष ढिलो भएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँका अनुसार सडक निर्माण आगामी २०८२ जेठ, असार महिनासम्ममा सम्पन्न गर्ने बताउनु भयो । उहाँले राजविराज ३ वडाले काम गर्न अवरोध गरेको कारण निर्माण अवरुध्द हुन पुगेको बताउनुभयो । उहाँले राजविराज ३ वडाले काम गर्न अवरोध नगरे समय सीमाभित्र निर्माण कार्य सम्पन्न गर्ने बताउनुभयो । 

राजविराज नगरपालिकाका प्रवक्ता तथा ८ नम्बर वडाध्यक्ष जयनारायण मण्डलका अनुसार ३ वडाले काम गर्न गरेको अवरोधलाई सहमतिबाट समस्याको समाधान गर्ने बताउनुभयो । उहाँले नगर क्षेत्रभित्र करिब २ किलोमिटर सडक निर्माण नहुँदा स्थानीय धुलाे र हिलो भएर आवतजावत गर्न बाध्य छन् ।