• ३ जेठ २०८२, शनिबार

चोरीका दुई वटा ट्रक फेला

blog

हेटौँडा उपमहानगरपालिकाका विभिन्न स्थानबाट चोरी भएको ट्रक फेला पारी सवारी धनीलाई बुझाइँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, जेठ ३ गते ।
मकवानपुरमा पछिल्लो समय साना सवारी साधनदेखि ठुला सवारी साधन चोरीको घटना बढ्दो छ ।
मकवानपुर प्रहरी हेटौँडा उपमहानगरका विभिन्न स्थानबाट चोरीभएको दुई वटा ट्रक चोरीभएको फेला पारी शनिबार सवारी धनीलाई बुझाएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नं. १२ का ईश्वर बलामीले सञ्चालन गर्दै आएको ना. ३ ख. ७३२० नं.को ट्रक गत वैशाख ३० गते हेटौँडा ११ नवलपुरस्थित ग्यारेजमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको र वडा नं. ३ का हरि बहादुर डङ्गोलले सञ्चालन गर्दै आएको मे. १ ख. १४५७ नं. को ट्रक यही जेठ १ गते आफ्नै घर अगाडिबाट चोरी भएको भएको थियो ।

चोरी भएको दुवै ट्रक जिल्ला चितवन खैरहानी नगरपालिका वडा नं. ९ स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डको किनारमा फेला पारी कार्यालयमा ल्याई सम्बन्धित धनी बुझाइएको मकवानपुरको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार चोरीमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको छ ।

यसअघि मनहरीबाट पार्किङ गरी राखेको ट्रक चोरी भएर फेला पारी सवारी धनीलाई बुझाएको एक साता नबित्दै माइक्रो चोरीभएको थियो ।

हेटौँडा उपमहानगरपालिका वडा नं. ११ नवलपुरस्थित नवीन बर्तौलाको घर अगाडि पार्किङ गरेर राखेको भे. १ ज. १२०४ नम्बरको माइक्रो आइतबार राति हराएकोमा खोजतलासको क्रममा मनहरी गाउँपालिका वडा नं.७ स्थित पुलमुनि खोला छेउमा छोडेको अवस्थामा फेला परी सवारी धनीलाई बुझाइएको थियो ।

यस्तै, मनहरी गाउँपालिका ७ रमनटारका ट्रक चालक सोमबहादुर थिङले आफ्नै घर नजिक पार्किङ गरी राखेको ना. ६ ख. ३६६१ नं. को ट्रक हराएकोमा प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा मनहरी गाउँपालिका रजैयास्थित पूर्व पश्चिम सडकखण्डको जङ्गलमा लगेर छाठेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रह्री नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

उक्त ट्रक ट्रक कसले चलाएर लगेको हो भन्ने अझै खुलेको छैन । यसैगरी हेटौँडा १० का बमबहादुर न्यौपानेको ना. २ ह. १३७१ नम्बरको अटो हराएको आठ महिनापछि फेला पारी प्रहरीले बझाएको थियो ।