साहारा लिम्बू
फुङलिङ, जेठ ३ गते । ताप्लेजुङमा सकारात्मक सोच द्वारा रचनात्मक जीवनशैली आध्यात्मिक प्रशिक्षण सम्बन्धी पाँच दिने कार्यक्रम सुरु भएको छ । सामुदायिक भवन (सिटी) हलमा शनिबार आजदेखि पाँच दिने प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
फुङलिङ नगरपालिकाको समन्वयमा ब्रह्मकुमारी राजयोग उप सेवा केन्द्र फुङलिङ ५ ताप्लेजुङले आगामी जेठ ७ गतेसम्मको लागि पाँच दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । प्रशिक्षण कार्यक्रमको सहजीकरण ब्रह्मकुमार राजु घलेले गर्नु भएको छ ।
घर गृहस्थमा रहेर सुख, शान्ति, आनन्द, प्रेमको अनुभुति गर्न जीवनमा आइपर्ने विभिन्न समस्याहरूको समाधान गर्ने वैज्ञानिक एवम् आध्यात्मिक विधिद्वारा सिकाइ सहितको प्रशिक्षणको आयोजना गरिएको बताइएको छ ।
सिकाइ तथा प्रशिक्षण बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सिटी हलमा सञ्चालन गर्ने तालिका रहेको छ । आवश्यकता र माग अनुसार दिवा समयमा विभिन्न समुह तथा क्याम्पस, कलेजमा समेत प्रशिक्षणको व्यवस्था गरिएको केन्द्रले जनाएको छ ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझा, जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश बिकास श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्का, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतम लगायत विभिन्न कार्यालय प्रमुख तथा प्रतिनिधि स्थानीयको उपस्थिति रहेको थियो ।