• १२ साउन २०८१, शनिबार

भूमिगत पानीको सतह घट्दै , हातेनलबाट पानी आउन छाड्यो

blog

अत्तरिया समाचारदाता 

धनगढी, असार ६ गते । कैलाली जिल्लाको धनगढी उपमहानगर क्षेत्रमा  हातेनलमा पानी आउन छाडेको छ । खानेपानीका लागि वैकल्पिक स्रोतका रूपमा यहाँका हरेक घरमा हातेनल राखिएको हुन्छ । पछिल्ला दिनमा भूमिगत पानीको सतह घट्दै गएपछि यहाँका हातेनलबाट पानी आउन छाडेको हो । पानी आउन छाडेपछि धनगढी उपमहानगरपालिका विशेष गरी सहरी क्षेत्रका बासिन्दा बढी प्रभावित हुन थालेका छन् ।

लामो समयको खडेरीका कारण जमिनमुनि पानीको सतह सुक्दै गएपछि धनगढीका २३ हजार २४९ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । धनगढी नगर क्षेत्रमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानसँग ग्राहक सङ्ख्या नौ हजार एक सय जति छ, बाँकी अरू घरपरिवारले हातेनलको पानी प्रयोग गर्दै आइरहेका छन् । 

हाल खानेपानी संस्थानले दैनिक १४ लाख लिटर पानी वितरण गर्दै आएको छ । यद्यपि यहाँको बढ्दो जनसङ्ख्याका कारण दैनिक १७ लाख लिटरभन्दा बढी पानीको माग हुँदै आएको छ ।  उसो त गर्मी मौसममा पानीको बढी प्रयोग हुने गर्छ । पानीको माग बढेसँगै खानेपानी संस्थानले आपूर्तिको व्यवस्था मिलाउन सकेको छैन । 

त्यसैले गर्मी मौसम सुरु भएसँगै खानेपानीको अभाव हुन थालेको छ । घर घरमा गाडिएका हातेनलसमेत सुकेपछि खानेपानीको माग बढेको खानेपानी संस्थान धनगढीका प्रमुख शैलेन्द्र साहले बताउनुभयो । गर्मीसँगै हातेनलको पानी सुकेपछि उपभोक्ता संस्थानको पानीमा निर्भर हुन थालेका छन् ।  

प्रमुख साहले भन्नुभयो, “हाम्रो पानीको स्रोत भनेको भूमिगत पानी हो ।  भूमिगत पानी पनि दुई मिटर जति सतह घटेको अनुमान गरिएको छ । पानी तान्न समस्या छ । बिजुलीबत्ती जाने, सडक र नाली निर्माणले गर्दा आपूर्ति बन्द हुने गरेको छ । खडेरीले हातेनल सुकेका छन् ।” 

धनगढीमा पानी वितरणका लागि आठ वटा ट्याङ्की निर्माण गरिएका छन् । १२ वटा बोरिङ भूमिगत पानी तान्न गाडिएका छन् । संस्थानका बोरिङमा भूमिगत स्रोतका पानी आउने गरेको भए पनि पानीको सतह भने घटेको छ । जसका कारण थप पानीको समस्या सिर्जना भएको हो । संस्थानका प्रमुख साहले धनगढीमा चैतदेखि पानीको सतह कम हुँदै गएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “खानेपानी संस्थानलाई बोरिङको पानी तान्न २६५ देखि २७० वाट विद्युत्को भोल्टेज आवश्यक हुन्छ  । त्यो अनुसार बिजुली प्रवाह नहुने गरेकाले झन् समस्या आउने गरेको छ । अनियमित विद्युत्का कारण पानी आपूर्तिमा समस्या भइरहेको  उहाँको भनाइ छ ।   

धनगढी उपमहानगर–१२ ‘ए’ गाउँका धनबहादुर लामाको घरमा १५० फिट गहिरो हातेनल गाडिएको छ तर पानी आउन छाडेको एक महिनाभन्दा बढी भइसक्यो । त्यसै गरी सन्तोषीटोल क्षेत्रमा पनि हातेनलबाट पानी आउन छाडेको छ । उहाँले भन्नुभयो, “छिमेकीको बोरिङ चल्दा पानी भरेर भण्डारण गरेर राख्ने गरेका छौँ । जे जसरी भए पनि पानीको सङ्कट टार्ने काम भएको छ ।”