• ५ जेठ २०८१, शनिबार

चित्रकलामा समर्पित कलाकार एरिना

blog

शिवा तामाङ

काठमाडौँ, वैशाख १५ गते । कलाकार एरिना ताम्राकारको अनुभवमा महिला शक्तिको खानी हो, आफ्नो शक्तिलाई चिनेर जुनसुकै क्षेत्रमा प्रतिबद्धतासहित अगाडि बढे हरेक चुनौतीको सामना गर्न महिला सक्षम छन् । विगत तीन दशकदेखि चित्रकलामै समर्पित कलाकार ताम्राकारलाई देश–विदेशमा यही विधाले चिनाएको छ । कलाको अध्ययन गर्दा नै उहाँ यही क्षेत्रमा सिङ्गै जीवन अर्पित गर्ने प्रणले अगाडि बढ्नुभयो । 

मनको अठोट पूरा गर्ने सन्दर्भमा उहाँले समाजको परिवेशलाई चित्रकलाको विषयका रूपमा पस्कँदै आउनुभएको छ । उहाँको कलायात्रा समाजमा महिलालाई प्रताडित गर्ने विषयबाटै सुरु भयो । उहाँले सिर्जनाको निरन्तरताको दौरानमा महिलाका विविध भूमिका, कर्मको पाटोलाई समेत उजागर गर्दै आउनुभएको छ । 

महिलाको जीवनमा पीडा मात्र छैन, सबै महिला पीडित पनि छैनन्, परिवेश, क्षेत्रअनुसार फरक वातावरणमा हामी रहन्छौँ, हजारौँ समस्यालाई सुझबुझले चिर्दै अगाडि बढ्नु जीवन हो, सकारात्मक वातावरणले काम गर्न अवश्य सजिलो होला, तर जुनसुकै क्षेत्रमा सफल हुने व्यक्तिले आफैँभित्र काम गर्ने जोसको आगो निरन्तर बालिरहनुपर्छ– कलाकार ताम्राकार भन्नुहुन्छ । कला सिर्जनालगायत कुनै विधामा काम गर्न महिला–पुरुषलगायतका लिङ्गले फरक पार्दैन तर समाजको वातावरणबाट प्रभावित नभइरहन सकिन्न, बालिका पीडित हुँदा मेरो मन दुख्छ ।  आफ्नो सिर्जनाका थुप्रै अध्यायमा  महिला, बालबालिका र प्रकृतिको रङ ज्यादा झल्किने सन्दर्भमा उहाँको तर्क समाजकै प्रभाव हो भन्नुहुन्छ । 

उहाँले करिब एक दशकको समय ‘तेस्रो आँखा’  शृङ्खलामा काम गर्नुभयो । सङ्घर्षबिनाको जीवन कसैको पनि हुन्न । क्षेत्र, स्थान, समुदाय र वर्गीय हिसाबमा सङ्घर्ष फरक प्रकारका हुन्छन्, त्यसको सामना गर्न सक्ने सोचको विकासका लागि महिलाले तेस्रो आँखा, उहाँको भाषामा ‘मनको आँखा’ खोल्नुपर्छ भन्ने सन्देश तेस्रो आँखा शृङ्खलामार्फत दिनुभएको थियो । हाल उहाँलाई चन्द्रमाको सौन्दर्यले आकर्षित गरेको छ । थुप्रै गीत, गजल, कवितामा विम्बका रूपमा छनोट गरिने चन्द्रमालाई उहाँ क्यानभासमा सजाउन तल्लीन हुनुहुन्छ । यस क्षेत्रमा आउन पाइला अगाडि बढाइरहेका नयाँ पुस्ताका लागि सिक्ने, सिकाउने वातावरण प्रशस्त भए पनि प्रतिस्पर्धा पनि उत्तिकै बढेको उहाँ बताउनुहुन्छ । 

कलाकार ताम्राकारले कलाकारितामा लागेका अग्रज कलाकारको सङ्घर्ष देख्नुभएको छ, आफ्नै प्रयासको अनुभव छ, नयाँ पुस्ताको सपना, आकाङ्क्षालाई पनि सुन्ने क्रममा यस क्षेत्रमा सुरुका दिनमा गर्नुपर्ने सङ्घर्षलाई जीवनको ‘बीउ’ का रूपमा हेर्नुपर्ने बताउनुहुन्छ । हाल उहाँ काष्ठमण्डप आर्ट स्टुडियोमा नयाँ पुस्तालाई कलाका विविध पक्षबारे सिकाउँदै आफ्नो सिर्जनामा भाव भरिहनुभएको छ ।