कवि तथा सञ्चारकर्मी डा. नवराज लम्साल नेपाली कविता र रेडियो प्रसारणका मानक स्रष्टा हुनुहुन्छ । महाकवि देवकोटाको निधनपछि निस्तेज रहेको भनिएको नेपाली महाकाव्यलाई पुनर्जागरण दिएको जस उहाँलाई जाने गरेको छ । रेडियो नेपाल र बिबिसीमा उहाँले विविध कार्यक्रम, सूचना र समाचारमार्फत उचाइ चुम्नुभयो । महाकाव्य ‘अग्नि’ का लागि २०७८ को मदन पुरस्कार जितेपछि उहाँको साहित्यिक क्षमताले मूल्य पनि प्राप्त ग¥यो र नेपाली महाकाव्य क्षेत्रले पुनर्जागरण पायो । कर्ण, धरा र अग्नि जस्ता अब्बल महाकाव्य दिनुभएका लम्सालको चौथो महाकाव्य ‘कल्प’ बजारमा आएको छ । उहाँसँग गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :
महाकाव्यमा मदन पुरस्कार जितेपछि फेरि महाकाव्य नै लिएर आउनुभएको छ । यसले अग्निको उचाइ छुन्छ ?
छुने मात्र होइन, यसले त्यो उचाइ उछिन्छ । मैले निकै मेहनत गरेको छु । भाषाको प्रयोग फरक छ, कथ्य फरक छ । सामयिक वैश्विक सन्दर्भलाई सपे्रम उठाएको छु र समाधानका सूत्र पनि दिएको छु । कर्ण, धरा र अग्निभन्दा थप परिष्कृत र परिमार्जित काव्यिक चेतमा आइपुगेको छु जस्तो लाग्छ ।
तपाईंका पात्र समाजका मूर्त प्रतिरूप हुन् वा चेतनाका अमूर्त प्रतीक ?
कविता भनेकै मूर्तबाट अमूर्ततातिर, बाहिरबाट अन्तरतिर र आलस्यको अँध्यारोबाट जागृतिको उज्यालोतिर जानु हो । पात्र मूर्त अमूर्त हुनुभन्दा पात्रमाथि वा पात्रको प्रयोगमार्फत प्रस्तुत गरिने अनुभूतिको दृष्टिचेतनाको बढी महìव हुन्छ । म समय, समाज र संवेदना लेख्छु ।
तपाईंको महाकाव्यमा समय स्थिर छ वा चेतनासँगै निरन्तर बगिरहेको ?
चेतना भनेकै चलन प्रक्रिया हो । स्थिरता जड हो । त्यही जड त समय अनुरूप परिवर्तित हुन्छ भने चेतनाको उज्यालो त स्थिर हुनै सक्तैन । यो उज्यालो चेतना हो भनेर माने पनि लेखकभित्रको चेतना झन् सघन हुँदै जान्छ । लेखनमा आउने परिपक्वता भनेकै यही हो ।
महाकाव्य समाजको प्रतिविम्ब हो कि समाज रूपान्तरणको दीपक ?
समाजको प्रतिविम्ब नभई कसरी रूपान्तरण हुन्छ ? समय, समाज र संवेदनाको आँखाले समाजको यथारूप हेरेपछि मात्रै यथार्थबोध हुन्छ । यथार्यको स्वरूपमा देखापर्ने विद्रुप पक्षमाथि झटारो नहानी न्याय स्थापित गर्न कहाँ सकिन्छ र ? कर्णमा कर्ण स्वयंको नायकत्व, धराको बहुलता, अग्निको आरन र कल्पको वैश्विक चेत समाजको प्रतिविम्ब पनि हो र रूपान्तरणको दीपक पनि हो ।
तपाईंका शब्दले बाहिरी यथार्थलाई चित्रण गर्छन् वा अन्तर्मनको यात्रालाई उद्घाटन गर्छन् ?
बाहिरी रूप र आवरण कविताको कच्चा पदार्थ हो तर त्यही कच्चा पदार्थको बाटो हुँदै अन्तरको आधार नछोई र नभत्किकन अनुभूति कसरी फुल्छ र सुन्दर कविताको फूल ? कविताको मूल बाटो भनेकै अन्तरको उज्यालो मैदान हुँदै चिन्तन गर्नु र चैतन्य चुम्ने कोसिस गर्नु हो । त्यो उपल्लो सत्ता र त्यसको अनुभूतिमा काव्यिक महक छ, मिठास छ ।
प्रेम, पीडा र सङ्घर्ष सार्वभौमिक सत्य हुन् वा सांस्कृतिक कल्पना मात्र ?
प्रेम, पीडा र सङ्घर्षको रूप फेरिन सक्छ तर सारमा यी सार्वभौम हुन् । यसले हरेक पुस्तालाई गिजोलेकै छ । संस्कृति कि प्रसार हुन्छ कि उत्पत्ति । प्रसार भए पनि फेरिएर जान्छ, उत्पत्ति भए पनि भएकै ठाउँमा रहन्न । यी दुई सन्तुलन र स्वरूप भन्नु स्रष्टा बाँचेको समय हो । म त्यही समयलाई चेतनाको अन्तरले छोएर कवितामा अभिव्यक्त हुन्छु ।
साहित्यमा सत्य तपाईंका लागि तथ्यको प्रमाण हो वा आत्माको अनुभव ?
सत्य कहिल्यै पूर्ण हुँदैन । सत्य पनि समय अनुरूप फेरिन्छ । एउटै हात्ती दृष्टिविहीनले वा आँखा चिम्लेको मान्छेले छाम्दा भेट्ने फरकपन सबै सत्य हुन् तर पूर्णता होइनन् । तथ्यको प्रमाण वा तथ्य प्रमाण भनिने लबज कुनै बौद्धिक अभ्यासको पाटो हुन सक्छ तर यी सबैमा आत्माको अनुभव नमिसिइकन कविता कविता हुँदैन । कविता तथ्य पनि हो, सत्य पनि हो, प्रमाण पनि हो, प्रमेय पनि हो तर यी सबैको कोरा वर्णन मात्रै कविता होइन । यी सबैभित्र कतै न कतै अन्तर तत्वले प्रवेश पाएन भने त कविता सास नभएको अक्षर हुन्छ ।
तपाईंका यी सबै विश्वास र विश्लेषणको जगमा तपाईंकै चौथो महाकाव्यको विराट्ता कति छ ?
यस पटक म राष्ट्रिय सीमाभन्दा माथि उठ्न खोजेको छु । मान्छेको लोभले प्रकृति नास्यो । अज्ञानले संस्कृति मास्यो । परिणाममा विश्वको सनातन शृङ्खला खजमजियो । अब संसार के हुन्छ ? यसका लागि कल्पमा मैले आफ्नो मस्तिष्क मजाले निचोरेको छु । हृदयको सीमाभन्दा माथि उठेर चेतनाको उज्यालोलाई स्पर्श गरेर माटोको महिमा गाएको छु । मान्छेको पूर्ण वकालत गरेको छु र मृत्युसँग काव्यिक संवादको कोसिस गरेको छु । आशा छ, मेरा पाठकले कल्पभित्र नयाँ कथ्यकथन र शैलीसंरचना भेट्नु हुने छ ।