गोरखापत्र समाचारदाता
काठमाडौैैँ, वैशाख १५ गते । जङ्गली हात्ती पाइने १३ वटा एसियाली मुलुकको तेस्रो अन्तर्राष्ट्रिय बैठक बुधबारदेखि काठमाडौँमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने सो बैठकमा सहभागी मुलुकका उच्च सरकारी अधिकारी, अध्ययन अनुसन्धानकर्ता, प्राध्यापक, संरक्षणविज्ञलगायतको सहभागिता छ ।
वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले बुधबार बैठकको उद्घाटन गर्नुभयो । उहाँले हात्ती संरक्षणमा सफलता प्राप्त भए पनि मानव र वन्यजन्तुबीचको द्वन्द्वको चुनौती समाधान गर्न कठिन भइरहेको बताउनुभयो ।
एसियाली हात्ती पाइने मुलुकको संरक्षणका कार्यक्रम, प्रविधि तथा नीति रणनीतिको अनुभव आदान प्रदानले दुर्लभ मानिएको हात्तीको संरक्षणमा थप टेवा पुग्ने उहाँले बताउनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले हिन्दु, बौद्ध धर्मावलम्बीले गणेशका अवतार मानेर पूजा गर्ने भएकाले पनि दक्षिण एसियाली मुलुकमा हात्तीको संरक्षणमा सहजता भएको बताउनुभयो ।
मानव र वन्यजन्तुको सहअस्तित्वबिना मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरण र संरक्षण अभियान प्रभावकारी हुन नसक्ने भन्दै उहाँले विकास निर्माणका गतिविधिसँगै वन्यजन्तुको बासस्थानमा चुनौती थपिँदै गएको बताउनुभयो ।
कार्यक्रममा भारत, भुटान, इन्डोनेसिया, थाइल्यान्ड, चीन, बङ्गलादेश, कम्बोडिया, लाओस, श्रीलङ्का, म्यानमार, भियतनाम, नेपाल, मलेसियालगायतका देशले आफ्नो मुलुकमा हात्तीको अवस्था, बासस्थान, संरक्षणका लागि भएका कार्यक्रम, दीर्घकालीन तथा अल्पकालीन नीतिहरूबारे कार्यपत्र प्रस्तुत गरिएका थिए ।
दक्षिण एसियाली सबै मुलुक विकासोन्मुख भएकाले विकासको बढी चाहाना हुँदा वन्यजन्तुको बासस्थान मासिँदै जाने समस्या सबै मुलुकको साझा समस्याका रूपमा औँल्याइयो ।
अवैध चोरी सिकार तथा हात्तीका विभिन्न अङ्गको अवैध व्यापार, कानुनको प्रभावकारी कार्यान्वयनमा अभाव, पूर्वाधारको विकाससँगै बासस्थान खण्डीकरण, स्थानीय समुदायलाई हात्तीको बासस्थान, चरिचरन र आनीबानीका बारेमा यथेष्ट ज्ञान हुन नसक्दा हात्ती संरक्षणमा चुनौती थपिँदै गएका विषयलाई हात्ती पाइने मुलुकहरूले साझा मुद्दा बनाउनुपर्नेमा सहभागीहरूले जोड दिए ।
बैठकका सहभागी मुलुकहरूले आ–आफ्नो देशभित्र हात्ती संरक्षणका लागि तय गरेको नीतिगत व्यवस्था, मानव वन्यजन्तु न्यूनीकरणका लागि भए, गरेका प्रयास, राहतको व्यवस्था, संरक्षणमा स्थानीय सहभागिताको अभ्यास, संरक्षणका लागि अवलम्बन गरेका प्रविधि ज्ञानबारे अनुभव आदान–प्रदान गरिने भएको छ ।
हात्तीको जैविक मार्गको व्यवस्थापन तथा संरक्षण, हात्तीको बासस्थानमा पूर्वाधार निर्माणलाई व्यवस्थित गर्ने विधि, हात्ती संरक्षणका लागि दुई देशबीचको अपनाउनुपर्ने सहकार्यलगायतका विषयमा पनि छलफल गरी टुङ्गोमा पुग्ने बताइएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार हात्ती पाउने सबै मुलुकको साझा समस्या समाधानका लागि साझा धारणा निर्माण गरी काठमाडौँ घोषणापत्र पनि जारी गरिने छ । आगामी अर्काे बैठकमा सो घोषणापत्र कार्यान्वयन र प्राप्त प्रतिफलबारे छलफल गरिने छ । यो बैठकमा जाकार्ता घोषणापत्रमा उल्लेख भएका कुराहरूको कार्यान्वयन र प्राप्त प्रतिफलबारे पनि छलफल गरिने कार्यक्रम रहेको छ ।