• १२ असार २०८१, बुधबार

नौमती बाजा बजाएर प्रशंसा बटुल्दै महिला (भिडियोसहित)

blog

नौमती बाजा बजाएर प्रशंसा बटुलिरहेका दलित महिला समूह । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असार ३ गते । ‘महिलाले बाजा बजायो भने जुँगा आउँछ’ पहिलो पटक बाँसुरी बजाउने प्रयास गर्दा कमला परियारका बुवाले रोक्दै भन्नुभएको थियो । महिलाले बाजा बजाउन त परै जाओस् छोए पनि पाप लाग्छ भन्ने अन्धविश्वासको कारण कमलाले बाँसुरी बजाउँदा बजाउँदै रोकिनुभयो । 

तीन महिनाअघि शिवराज नगरपालिका वडा ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले मदवा टोलमा नौमती बाजा समूह स्थापना गरेका छन् । जहाँ कमलासहित सुकुम्वासी बस्तीका २१ दलित महिला एकजुट भएका छन् । सुरुवाती चरणमा उहाँहरूलाई श्रीमानले समेत अवरोध गर्नुभएको थियो । अवरोधका बाबजुद पनि कामलाई निरन्तरता दिएको महिलाको भनाइ छ । 

चुला चौकामा सीमित दलित महिला अहिले अन्धविश्वास चिर्दै नौमती बाजाकै कारण चौतर्फी प्रशंसा कमाइरहेका छन् । उहाँहरूले बाजा बजाएर ख्याति कमाउन सुरु गरेपछि श्रीमानहरूले पनि खुसी व्यक्त गरेका छन् ।

जिल्लामा हुने कार्यक्रम होस् वा विशिष्ट पाहुना आउँदाको सत्कार, ढाकाको चोलीमा एउटै पहिरनमा सजिएका शिवराज नौमती बाजा समूहलाई बोलाउन सुरु भएको छ । उहाँहरूको कामको नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, लुम्बिनी प्रदेशमा मन्त्रीदेखि, स्थानीय जनप्रतिनिधिले समेत प्रशंसा गर्नुभएको छ ।

तालिम लिएका २१ मध्ये १२ जना सक्रिय भई बाजा बजाउने काममा सक्रिय हुनु भएको छ । दुई लाख रुपियाँको बजेटमा दमाहा, कर्नाल, नरसिंह, सहनाइ २–२ थान, झ्याली तथा ट्याम्को १ थान र तालिम प्रदान गरेको थियो वडा अध्यक्ष सापकोटाले बताउनुभयो ।

पहिला पुरुषले मात्र कमाउँथे हामीलाई कमाउन जान दिँदैनथे । अहिले हामीले कमाउन सुरु गरेका छौँ । घर खर्च, टिकी चुरा र नानी बाबुको पढाइ खर्चको जोहो भएको महिलाको भनाइ छ ।  पहिला पतिसँग बोल्न समेत डराइन्थ्यो, अहिले आफ्ना कुरा राख्ने हिम्मत जुटेको छ । नेपाली पोसाक लगाएर बाजा बजाउँदा दर्शकले तारिफ गर्दा निकै खुसी लागेको कमला परियारले बताउनुभयो । 

समूहका सदस्य ६० वर्षीया पुतली परियारले नौमती बाजा बजाउन हिँडेपछि ज्याला मजदुरी गर्न छाडेको बताउनुभयो । ज्यालामा गई ४ दशकदेखि सहनाई बजाउँदै आएका लालबहादुर दमाईले आफूले जानेको सिप हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । 

भिडियो सम्पादनः मनोजरत्न शाही