• ४ असार २०८१, मङ्गलबार

घर–घरमा धारा निर्माण भएपछि स्थानीय हर्षित

blog

खानेपानीको धारा निर्माण गरिएको हिमाली गाउँपालिका –२ को नातीखोलामा टोल । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, असार १ गते ।
 जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–२ को नातीखोला टोलमा एक घर एक धारा निर्माण भएपछि यहाँका स्थानीय हर्षित भएका छन् ।

दिनहुँ एक घण्टा पैदल हिँडेर खोलाको धमिलो पानी खान बाध्य भएका नातिखोला टोलका स्थानीयका लागि प्रदेश सरकारको आर्थिक सहयोगमा एक घरमा एक धारा निर्माण भएपछि हर्षित भएका हुन् ।

गाउँमा खानेपानी नहुँदा खोलाको धमिलो पानी ल्याएर खाने गरिएको थियो । अब घरको आगनमै स्वच्छ सफा खानेपानीको धारा निर्माण भएपछि खुसी लागेको हिमाली गाउँपालिका –२ नातिखोला टोलकी स्थानीय ज्येष्ठ नागरिक बिसुकला बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला दिन रात पानी ल्याउनुपर्ने चिन्ता हुन्थ्यो । अब घरको आँगनमै पानीको धारा निर्माण भए पनि त्यो चिन्ता हट्ने भयो ।’’

उहाँले घरमै धारा भए पछि अब बाँझो रहँदै आएको जमिनमा तरकारी लगाउन सहन हुने बताउनुभयो ।

आर्थिक वर्ष २०७८/७९ सालमा प्रदेश सरकारको बाह्र लाख रकममा नातीखोला टोलका ४० घरमा खानेपानीको धारा निर्माण गरिएको नातीखोला खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष माना बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँदेखि झन्डै तीन किलोमिटर टाढा नातीखोला खानेपानीको मुहान छ । त्यसै मुहानबाट ल्याएको पानीले यहाँका ४० घरपरिवारको घरघरमा धारा निर्माण गरिएको हो ।”

नातीखोलाको मुहानबाट ल्याएको पानी गाउँमाथि एक ट्याङ्की हालेको छ । अहिले त्यो ट्याङ्कीबाट यहाँका ४० परिवारको घरमा निर्माण गरिएको धारामा नियमित राम्रो पानी आउने गरेको बुढाले बताउनुभयो ।

पुस्तौँदेखि गाउँमा खानेपानीको समस्या झेल्दै आएका यहाँका स्थानीयको यती बेला घरघरमा खानेपानीको धारा निर्माण कार्य सम्पन्न भएको हिमाली गाउँपालिका–२ का वडा अध्यक्ष रणबहादुर बुढाले बताउनुभयो ।

यहाँका स्थानीयको पहिलो प्राथमिकता सडक खानेपानी स्वास्थ्य शिक्षा भएकोले सोही अनुसार गाउँपालिकाले प्रत्येक वर्षमा रकम विनियोजन गर्दै आएको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिमाली गाउँपालिकाका अधिकांश टोल टोलमा एक घर एक खानेपानीको धारा निर्माण गरेका छौ ।” केही बाँकी रहेका टोलमा पनि यो वर्ष खानेपानीको व्यवस्था गर्दै जाने हिमाली गाउँपालिका प्रमुख प्रशासकीय भण्डारीले बताउनुभयो ।