• ४ असार २०८१, मङ्गलबार

चितुवाले आक्रमण गर्दा एक महिला घाइते

blog

गोकर्ण दयाल
बैतडी, असार १ गते ।
  चितुवा र मानवबिचको द्वन्द्व न्यूनीकरण गर्न सहअस्तित्व अभियान सञ्चालन भइरहेको गाउँमा चितुवाले पुनः आक्रमण गर्दा एक महिला घाइते हुनुभएको छ । 

मेलौली नगरपालिका–८, कोटिगाउँ डफन्नाका ३२ वर्षीया भानु विष्ट शुक्रबार अपराह्न घर नजिकै चितुवाको आक्रमणमा परी घाइते हुनुभएको छ । आक्रमणमा उहाँको तिघ्रामा घाउ भएको छ । घाइते महिलाको मेलौली प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ । शनिबार महिलालाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

मसान्तको दिन गाउँकै विलापुर सहकारीमा बचत गर्न जाँदा बाटोमा ढुकेर बसेको चितुवाले आक्रमण गरेको घाइते महिला भानु विष्टले बताउनुभयो ।

“घरबाट करिब पाँचसय मिटरको दूरीमा पुग्दा बाटोमुनि झाडीमा चितुवा लुकेर बसेको रहेछ,” उहाँले भन्नुभयो, “एक्कासि आक्रमण गर्दा म रन्थनिए । नजिकै रहेका छ/सात जना गोठालोले होहल्ला गरेपछि थप आक्रमण गर्न पाएन । बाटो मुनिबाट आक्रमण गर्दा चितुवाले मलाई ढलाउन सकेन । झाडीतिर भागेर गयो ।”

बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवा र मानवबिच द्वन्द्व बढेपछि मेलौली नगरपालिकामा राष्ट्रिय प्रकृति संरक्षण कोषले मानव–वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न सहअस्तित्व अभियान सञ्चालन गरिरहेको छ । अभियानले मेलौली नगरपालिका–९, विशालपुरका स्थानीयलाई बेसारखेती र बाख्रा पालन गरेर वैकल्पिक जीविकोपार्जनका लागि ३६ लाख रुपियाँ सहयोग गरेको छ ।

चितुवाले तल्लोस्वराड क्षेत्र मेलौली नगरपालिका, शिवनाथ र पाञ्चेश्वर गाउँपालिकामा २०६८ सालदेखि हालसम्म २८ जनाले ज्यान लिइसकेको छ । आक्रमणमा परि २० जनाभन्दा बढी घाइते भएका छन् । मानवले थापेको पासोमा २९ वटा चितुवाको पनि मृत्यु भएको छ ।