• ४ असार २०८१, मङ्गलबार

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

blog

फाइल तस्बिर

गण्डकी, जेठ ३२ गते । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।

यस अघि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेशसभा सदस्यहरूले भाग लिनुुभएको थियो । छलफलमा सदस्यहरूले सरकारका नीति तथा कार्यक्रमहरु कार्यान्वयन योग्य हुनुपर्ने बताउनुुएको थियो । सरकारका काम कारवाहीले प्रदेशको औचित्य पुष्टि हुनुपर्नेमा जोड दिँदै सदस्यहरुले सङ्घीयताको आकर्षण भनेको नै प्रदेश भएको उल्लेख गर्नुभयो । छलफलमा उठेका प्रश्नका जवाफ दिदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभामा उठेको विषयलाई आत्मसात गर्दै अघि बढ्ने बताउनुुभयो । 

नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको प्रसङ्ग नियतवत नछुटाइएको उल्लेख गर्दै उहाँले चालु वर्षमा सञ्चार क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको र आगामी वर्ष पनि यसले निरन्तरता पाउने धारणा राख्नुुभयो । पत्रकार बीमा, लेखनवृत्ति, लोककल्याणकारी विज्ञापनलगायतका व्यवस्थाले निरन्तरता पाउने बताउँदै उहाँले लामो समयदेखि रोकिएको आमसञ्चार विधेयकलाई अगाडि बढाएर पारितसमेत गरेको उल्लेख गर्नुुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषय प्रदेश, मुलुकको मात्र नभै अन्तर्राष्ट्रिय विषय भएको बताउँदै उहाँले यहाँ अन्तरदेशीय उडानहरु हुनुपर्ने बताउनुुभयो । 

यसका लागि प्रदेशले मात्र नभइ सङ्घीय सरकारले चाहनुपर्ने बताउँदै उहाँले यहाँबाट जाने गन्तव्य रहेको त्यहाँको सरकारले पनि चाहनुपर्ने बताउनुुभयो । यसबारे पहलहरु भइरहेको र आज विहान मात्रै पनि  पोखराबाट बङ्गलादेशमा सिधा हवाइ उडानका विषयमा छलफल भइरहेको बताउनुभयो । समाजवादलाई हेर्ने दृष्टिकोणहरु फरक फरक रहेको बताउँदै उहाँले यो समय र स्थानअनुसार पनि फरक हुने उल्लेख गर्नुुभयो । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो ४ बजे बस्ने सभामुख कृष्णप्रसाद धितालले जानकारी गराउनुुभयो । रासस