लिलाधर वली
घोराही, जेठ ३२ गते । वनमा आधारित उद्यम विकासको आम्दानी र रोजगारीमा वृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । डिभिजन वन कार्यालय घोराहीले आयोजना गरेको वनमा आधारित उद्यम विकासका लागि सरोकारवालाहरुसँग गरेको छलफल कार्यक्रमका सहभागीले देशमा वनमा आधारित उद्यम विकास गर्न सकिने प्रशस्त सम्भावना भएपनि सरकारको प्राथमिकतामा नपरेको गुनासो गरेका छन् ।
वनलाई उद्यमसँग जोडेर लैजान सके वन क्षेत्रको श्रोतको प्रयोग भई रोजगारी वृद्धि हुने, वनजन्य बस्तुको सदुपयोग हुने, निर्यात प्रवद्र्धन तथा आयतलाई प्रतिस्थापन गर्दै देशको आर्थिक तथा सामाजिक बिकासमा योगदान गर्ने सकिने सम्भावना रहेकामा जोड दिएका थिए ।  
कार्यक्रममा डिभिजन वन कार्यालय घोराही दाङका सिनियर डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठले देशको करिव ४५ प्रतिशत वन क्षेत्र रहेको र त्यसमध्ये करिव १५ प्रतिशत वन क्षेत्र लुम्बिनी प्रदेशमा रहेकाले त्यसको समुचित प्रयोग गरी उद्यम गर्न सकिने प्रसस्तै सम्भावना रहेको बताउनुभएको थियो । लुम्बिनी प्रदेशमा ३ हजार २ सय ५९ वटा वनजन्य उद्योग दर्ता भएकोमा त्यसमध्ये ८२ प्रतिशत अर्थात् २ हजार ६ सय ८१ वटा उद्योग सञ्चालनमा रहेको बताउनुभएको थियो । 
दाङमा पछिल्लो दुई बर्षको तथ्यांक हेर्दा टिमुर दालचिनी र सुगन्धकोकिला ३ लाख २० हजार किलो संकलन भएको र त्यसबाट २० करोड ५० लाख रुपैया किसानले आम्दानी गरेको तथ्यांक प्रस्तुत गर्दै डिभिजन वन कार्यालय घोराही दाङका सिनियर डिभिजन वन अधिकृत श्रेष्ठले त्यसलाई ब्यवस्थित गर्न सके यो आम्दानी र उत्पादनलाई ५ गुणासम्म वृद्धि गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि विकास बैंक घोराही दाङका कर्जा अधिकृत विजय जोजजुले समृद्धिका लागि वन परियोजना अन्तर्गत वनमा आधारित उद्योग सञ्चालनका लागि सरकारले सहुलियत ऋणको व्यवस्था गरिएको बताउनुभयो । उहाँले सरकारले लुम्विनी र मधेश प्रदेशमा सरकारले २५ करोड ऋण छुट्टाएकोमा दाङका लागि ६ करोड आएकोमा हालसम्म २ करोड रुपैया मात्रै कर्जा प्रवाह भएको बताउनुभयो । उक्त ऋण बढीमा १५ वर्षका लागि हरेक तीनतीन महिनामा व्याज किस्ता हाल्ने गरी ९ प्रतिशत व्याजदर कायम गरी वनमा आधारित उद्योग सञ्चालन गर्नेहरुलाई लगानी गर्ने व्यवस्था रहेको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ वन अधिकृत टेकनप्रसाद आचार्यले वनजन्य उद्योगको मूल्य श्रृङ्खला, बजार व्यवस्थापन, नविन प्रविधि, वातावरणमैत्री प्रविधिको प्रयोग र वन क्षेत्रमा कार्यरत कामदारहरुको पेशागत सुरक्षा र स्वास्थ्यको विद्यमान अवस्थाबारे जानकारी गराउनुभएको थियो । 
कार्यक्रमका वन पैदावार संघका केन्द्रीय सदस्य दानबहादुर अधिकारीले वनजन्य उद्योग सञ्चालनका लागि आएको सहुलियतपूर्ण ऋणलाई ब्यवस्थित गर्नुपर्ने बताउनुभयो । विश्व बैकले प्रदान गरेको सहुलियत ऋण ओभरहेड र बैकको नाफाका नाममा घुमाउरो तरिकाले लक्षित वर्गमा पुग्दा अन्य ऋण जस्तै महंगा व्याजदरको भएको भनी त्यसलाई परिमार्जन गरी सहुलियत ब्याजदरमा दिने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । कार्यक्रममा वनमा आधारित उद्योग सञ्चालक, वन समूहका पदाधिकारी, उद्यमी, वनकर्मीलगायतकाको सहभागिता रहेको थियो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                