• ४ असार २०८१, मङ्गलबार

तीन जनाको मृत्युपछि कावासोती तनावग्रस्त : चार जना प्रहरी घाइते

blog

नगरपालिका कार्यालय तोडफोड गर्न पुगेका स्थानीय आक्रोशित । तस्बिरः बोमलाल गिरी ।

बोमलाल गिरी

नवलपुर, जेठ ३२ गते। नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ। मृतकका आफन्त र स्थानीयले नगर प्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नाराबाजी गर्दै नगरपालिका र निजी निवासमा तोडफोड गरेका छन्।

उनीहरुले नगरपालिकाको लापरवाहीले पुरिएर तीन जनाको मृत्यु भएको भन्दै नगर प्रमुख भुसालको राजीनामा माग्दै ढुङ्गामुढा र तोडफोड गरेका हुन्।  नगरपालिका नजिकै जिल्ला प्रहरी कार्यालय रहे पनि घटनास्थलमा प्रहरी आउन ढिला हुँदा पालिकामा ठुलो क्षति पुगेको छ।

स्थानीय र मृतकका आफन्तले नगर प्रमुख भुसालको घरमा पनि तोडफोड गरेका छन्। उनीहरुले हिजो रातिसम्म पनि भुसालको घर घेराउ गरेका थिए। हिजो घर घेराउ गर्दै नाराबाजी गरिरहेकालाई प्रहरीले तितरबितर पारे पनि शुक्रबार बिहानैदेखि उनीहरुले नगरपालिका कार्यालय र नगर प्रमुखको घरमा ढुङ्गामुढा गरेका हुन्।



पीडितपक्ष वार्ता गर्न भनेर नगरपालिका गए पनि नगर प्रमुख भुसाल अनुपस्थित भएपछि पीडित थप आक्रोशित भएका हुन्। नाला खन्ने क्रममा पुरिएर बिहीबार कावासोती नगरपालिका ५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, सोही ठाउँकी २५ वर्षीया तानमाया गाहा र २३ वर्षीया चमेली दर्लामी मगरको मृत्यु भएको थियो। मृतक तीनै जनाको शव मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार अहिलेसम्म ३० राउण्ड बढी अश्रुग्याँस प्रहार भएको छ। 

प्रदर्शनकारीको आक्रमणमा चार जना प्रहरी घाइते भएपछि प्रहरी अश्रुग्याँस प्रहार गर्न बाध्य भएको हो। 

प्रदर्शनकारीको आक्रमणबाट पत्रकार कल्पना कुँवर, स्थानीय संजय श्रेष्ठसमेत घाइते हुनुभएको छ। यसैबीच नगरपालिकामा पीडित पक्ष, सरोकारवाला र नगरपालिकाबीच छलफल चलिरहेको छ। 

आन्दोलनरत पक्षले मृतकका परिवारलाई क्षतिपूर्ति दिनु पर्ने, दोषीलाई कारवाही गर्नुपर्ने, मृतकका परिवारका आफन्तलाई रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन्।