• १६ चैत २०८२, सोमबार

सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा मतगणनाको तयारी

blog

सर्लाही क्षेत्र नं. १ मा तयार पारिएको मतगणनास्थल । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, फागुन २२ गते ।
सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा अहिले बिहानबाट मतगणना सुरु गरिँदै छ । चारवटै निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक राखेर आचारसंहिता तयार पारी मतगणना सुरु गर्ने तयारी गरिएको हो । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत हिजो (बिहीबार) जिल्लाभर ६२८ वटै मतदान केन्द्रमा शान्तपूर्वक मतदान सम्पन्न भएको थियो ।

मतदान केन्द्रहरुबाट मतपेटिका सङ्कलन गरेर निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याएर बुझ्ने काम सम्पन्न हुन नै चारवटै निर्वाचन क्षेत्रमा राति १२÷एक बजेसम्म लागेको थियो । क्षेत्र नं. १ का निर्वाचन अधिकृत टीकाबहादुर थापाले राति एक चरण राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिबिच भएको छलफलमा अहिले बिहान सर्वदलीय बैठक बस्ने र बिहान ९ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको जानकारी दिनुभयो ।

क्षेत्र नं. १ को लालबन्दी नगरपालिका १० चन्द्रपुरमा रहेको १० नं. वडा कार्यालयको भवनमा मतगणना हुने छ । यस्तै क्षेत्र नं. २ मा मतगणनाबारे निर्णय गर्न अहिले बिहान सर्वदलिय बैठक बोलाइएको छ ।

मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले मतगणना सुरु गर्न दल तथा उम्मेदवारका प्रतिनिधिको प्रतिक्षामा बसिरहेको बताउनुभयो । क्षेत्र नं. २ मा जिल्ला समन्वय समिति (जिविस) को सभा हलमा मतगणना हुने छ ।

यसैगरी, क्षेत्र नं. ३ मा राति केहीबेर बसेको सर्वदलिय बैठकले अहिले बिहान ८ बजेपछि मतगणना सुरु गर्ने सहमति गरेको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार क्षेत्र नं. ३ को मतगणना हरिवनस्थित नापी कार्यालयको सभा हलमा मतगणना सुरु गरिँदै छ ।

त्यस्तै क्षेत्र नं. ४ मा राति बसेको सर्वदलिय बैठकले अहिले बिहान ८ बजेपछि मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिनुभयो । सर्लाहीमा अन्य निर्वाचन क्षेत्रको तुलनामा क्षेत्र नं. ४ मा बढी खसेको छ ।

निर्वाचन अधिकृत घिमिरेका अनुसार क्षेत्र नं. ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ जनाले मतदान गरेका छन् । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार जिल्लाभर करिव ६० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले चारवटै निर्वाचन क्षेत्रबाट मतदानको अन्तिम विवरण लिने काम भइरहेको बताउनुभयो ।

मध्य रातसम्म खटिएका दल तथा उम्मेदवारका प्रतिनिधि आउन ढिलाइ गर्दा सर्वदलिय बैठक बस्न नै ढिलो भइरहेकाले राति तय गरिएको समयभन्दा केही ढिलो गरी मतगणना सुरु हुने देखिन्छ ।