• २२ फागुन २०८२, शुक्रबार

तनहुँ जलविद्युत् आयोजनाद्वारा बयानब्बे योजना सम्पन्न

blog

दमौली (तनहुँ), फागुन २२ गते । तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत ९२ वटा योजना सम्पन्न भएका छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व अन्तर्गत ९२ योजना सम्पन्न भएका हुन् भने आठ वटा सञ्चालनमा आएका छन् । 

आयोजनाका प्रमुख श्यामजी भण्डारीले आयोजनाको सामुदायिक विकास कार्यक्रम अन्तर्गत प्रभावित क्षेत्रमा उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनस्र्थापन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उपभोक्ता समितिमार्फत सञ्चालित योजना वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवाप्रदायकबाट नियमित रूपमा अनुगमन गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार ऋषिङ–७ स्थित माछदाङ टुनीबोट ट्रेल पुलसम्मको पहुँच सडक, म्याग्दे गाउँपालिका–३ स्थित किलचोक शाखा सडकको नाला निर्माण, भिमाद नगरपालिका–५ स्थित फेदीखोला मोटरेबल पुल निर्माण, ऋषिङ गाउँपालिका–७ स्थित डाँडीवन चुलेसी पहुँचमार्ग, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेती नदीमाथि चुलेसी, टुनीबोटे, ब्ल्याङ र टुटुवामा निर्माण गरिने चार वटा झोलुङ्गे पुलका लागि लट्ठा आपूर्ति तथा ढुवानी, वानटाङखोलामा पक्की पुल निर्माण, व्यास नगरपालिका–५, पाटनमा पहुँच सडकसँग जोडिएको स्थानबाट गाउँतर्फ जाने सडक र ऋषिङ गाउँपालिका–१ स्थित खानेपानी मुहान तथा पाइप सुधार सहयोग कार्यव्रmम सञ्चालनमा छन् । 

आयोजना निर्माणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौँ, विभिन्न सामाजिक काममा आयोजनाका तर्फबाट सहयोग रहँदै आएको छ ।” आयोजनाको चरण–१ अन्तर्गत बाँधसहित संरचना (हेडवक्र्स), चरण–२ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण र चरण–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपेली लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकारको समन्वयमा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।