केदार तिमल्सिना
बनेपा, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन काभ्रेपलाञ्चोकको मतगणना शुक्रबार बिहान ९ बजेबाट सुरु हुने भएको छ । जिल्लाको दुवै निर्वाचन क्षेत्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेसँगै शुक्रबार बिहान ८ बजेलाई बैठक बोलाइएको र बैठक लगत्तै मतगणना सुरु गरिने भएको हो ।
मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले दुवै क्षेत्रको सर्वदलिय बैठक बिहान ८ बजेलाई बोलाइएको बताउनुभयो । उहाँले सर्वदलिय बैठक सकिए लगत्तै दुवै निर्वाचन क्षेत्रको मतगणना सुरु गरिने बताउनुभयो । बिहीबार भएको मतदान कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा ५६ दशमलव ५७ प्रतिशत अर्थात् कुल ९१ हजार १२८ मत र प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा ६४ दशमलव १७ प्रतिशत अर्थात् एक लाख छ हजार २१३ मत गरी जिल्लामा कुल ६० दशमलव ४२ प्रतिशत अर्थात् एक लाख ९७ हजार ३४१ मत खसेको थियो ।
निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर–१ मा ८३ हजार ७७३ पुरुष र ७७ हजार ३२६ महिला गरि एक लाख ६१ हजार एक सय र क्षेत्र नम्बर–२ मा ८३ हजार ७२६ जन पुरुष र ८१ हजार ७८४ महिला गरेर एक लाख ६५ हजार ५११ मतदाता रहेका छन् भने जिल्लामा कुल तीन लाख २६ हजार ६११ मतदाता रहनु भएको थियो ।