• ८ मंसिर २०८१, शनिबार

मधेश प्रदेशको नयाँ दुई मन्त्रीले लिनुभयो शपथ

blog

शपथ ग्रहण समारोहमा सहभागी प्रदेश प्रमुख, मुख्यमन्त्रीसहितका अतिथिहरु । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, जेठ २७ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आइतबार आफनो मन्त्रिपरिषदमा दुई जना मन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । यो सँगै तीन राज्यमन्त्रीसहित मधेश प्रदेशको मन्त्रिपरिषद १६ सदस्यीय पुगेको छ ।

मुख्यमन्त्री सिंहको सिफारिसमा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम जनमत पार्टीका शत्रुधन साहलाई वन तथा बातावरण र सकिल मियाँलाई विनाविभागिय मन्त्रीको जिम्मेवारी तोक्नु भएको हो । 

नयाँ जिम्मेवारी पाउनु भएका दुवैै जनालाई प्रदेश प्रमुखको कार्यकक्षमा आयोजित कार्यक्रमविच प्रदेश प्रमुख भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउनुभयो । कार्यक्रममा मुख्यमन्त्री सिंहसहित मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, मधेश सरकारका मन्त्रीहरु र उच्च अधिकारीको सहभागिता रहेको थियो । 

पुनर्गठन भएको मन्त्रिपरिषदमा मुख्यमन्त्रीमा सतिश सिंह, भौतिक पुर्वाधार विकास मन्त्रीमा सरोजकुमार यादव, अर्थमन्त्रीमा भरतप्रसाद साह, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा गोविन्दबहादुर न्यौपाने, उद्योग बाणिज्य तथा पर्यटनमन्त्रीमा युवराज भटट्राई, शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शत्रुधनप्रसाद सिंह, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा बेची लुङ्गेलीले जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै, खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोदकुमार जयसवाल, गृह सञ्चार तथा कानुन मन्त्रीमा विमला अंसारी, श्रम तथा यातायात मन्त्रीमा उर्मिलादेवी सिंह, वन तथा बातावरण मन्त्रीमा त्रिभुवन साह, विना विभागिय मन्त्रीमा सकिल मियाँ रहनु भएको छ ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा केशव राय, शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा शारदा थापा र वन तथा वातावरण राज्यमन्त्रीमा रन्जुकुमारी मण्डल खङ्ग रहनु भएको छ ।