• ८ मंसिर २०८१, शनिबार

विपद् व्यवस्थापनका लागि कार्ययोजना पारित

blog

विपद् न्यूनीकरणका लागि महोत्तरीको भंगाहा सीतापुर ९ भीमगढस्थित सार्वजनिक पोखरीमा एकिकृत विपद् प्रतिकार्य अभ्यास गर्दै सुरक्षाकर्मी । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, जेठ २७ गते । मनसुनजन्य जोखिमको व्यवस्थापनका लागि तयार पारेको कार्ययोजनालाई जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीले अन्तिम रूप दिएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको समितिको बैठकमा सम्भावित विपद् र त्यसको व्यवस्थापनका लागि बुँदागत छलफल भएको थियो । 

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको संयोजकत्वमा बसेको समितिको बैठकले तयार पारेको कार्ययोजनामाथि १५ वटै पालिकाका प्रमुखहरू, सुरक्षा निकाय, सरकारी कार्यालयका प्रमुखहरू, गैरसरकारी संस्था, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य सङ्घका सहभागीले कार्य योजनाको अन्तिम टुङ्गो लगाएको हो । बैठकमा सम्भावित जोखिम, उद्धार र सतर्कताबारे सघन छलफल भएको जनाइएको छ ।

छलफलमा पालिका स्तरीय विपद् व्यवस्थापन समितिले सूचना आदानप्रदान, राहत, पुनर्स्थापना र जोखिम न्यूनीकरण लगायतमा सहकार्य गर्ने सहमति भएको छ । रेडक्रसको महोत्तरी शाखाले विस्थापित सय परिवारलाई तत्काल पुनर्स्थापना लागि साधन सामाग्रीसहित तयारी अवस्थामा रहेको जनाएको छ । विपद्कोबेला सुरक्षा निकाय, स्वास्थ्य कार्यालय, डिभिजन वन कार्यालय, खानेपानी तथा सरसफाइ, शिक्षा, उद्योग वाणिज्य सङ्घले सहयोग र सहकार्यको सहमति गरेको प्रशासन कार्यालयले जनाएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य सचिव तथा सहायक प्रजिअ उपेन्द्र न्यौपानेले विपद् व्यवस्थामा लागि आवश्यक सामग्रीका लागि स्थानीय तह र विपद् व्यवस्थापन प्राधिकरणसँग अनुरोध गर्ने निर्णय भएको बताउनुभयो । यसका साथै बैठकले विपद् कार्य योजना स्वीकृति, विपद् प्रभावितलाई उपलब्ध गराइएको राहत खर्चको अनुमोदन, लगायतका बुँदामा सर्वसम्मत निर्णय भएको उहाँको भनाइ छ । 

नेपालमा यो वर्षको मनसुन भित्रिन एक साता मात्र बाँकी छ । प्रकोपको बेला तत्कालै गर्नु पर्ने रेस्क्यू, राहत, उपचार, पुनर्स्थापना जस्ता आपत्कालीन सेवालाई सतर्क अवस्थामा राखिएको न्यौपानेले बताउनुभयो । रातु, मडाहा, बाँके, जंगाहा जस्ता चुरेबाट उत्पन्न नदीको जोखिममा रहेको महोत्तरीका १५ वटै पालिका कटान र डुबान जस्ता जल उत्पन्न विपदबाट प्रभावित हुँदै आएका छन् । बर्दिबास, गौशाला, भंगाहा, सोनमा, औरही लगायतका उत्तरवर्ती ५ पालिकाहरू कटान र दक्षिणवर्ती बलवा, जलेश्व, पिपरा, एकडारा लगायत १० पालिका डुबानको जोखिममा छन्  । 

तथापि पर्याप्त पानी नपर्दा वर्षाले कुनै क्षति नपुर्‍याएको महोत्तरीमा यो वर्ष औसतभन्दा बढी मनसुनी वर्षा हुने पूर्वानुमान अनुसार पूर्व तयारी र सतर्कता अपनाइएको सशस्त्र प्रहरीको जलसागरस्थित नेपाल ९ नं गण हेड क्वार्टरका सशस्त्र उपरीक्षक एवं गणपति विनोद केसीले बताउनुभयो । 

मनसुनको बेला जलजन्य प्रकोपमा परेका सर्वसाधारणलाई तत्काल उद्धार गर्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, रेडक्रस, अस्पतालको सहभागितामा संयुक्त उद्धार समितिसमेत गठन गरिएको छ । संयुक्त उद्धार समितिका नेपाली सेना र सशस्त्र प्रहरीले वर्षा याममा हुने विपद् न्यूनीकरणका लागि भंगहा सीतापुर ९ भीमगढ र मटिहानीको सार्वजनिक पोखरीमा एकीकृत विपद् प्रतिकार्य अभ्यास (म्वक ड्रिल) समेत गरेको छ ।