• ४ असार २०८१, मङ्गलबार

सातुको शक्ति

blog

ड्राइ फ्रुट्स’ प्रयोग गरेर बनाइने ‘मल्टिग्रेन’ सातु बजारमा किनेको भन्दा आफैँले घरमा तयार गरेको उत्तम हुन्छ । पहिला पहिला पेट भर्न सातु खाइन्थ्यो भने अचेल धेरैले खाना भनेको पेट भर्न मात्र होइन स्वस्थ, तन्दुरुस्त र दीर्घजीवनका लागि खाइनु पर्छ भन्ने बुझेका छन् ।

सातु नेपालीको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए पनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, बेलुका कुनै पनि समय खान थालिएको छ । सातु आफैँमा सन्तुलित पौष्टिक आहार भएका कारण बच्चादेखि बुढाबुढी सबैलाई यो उत्तम मानिएको छ ।

परम्परागत रूपमा सातुलाई महीसँग खाने गरिन्थ्यो भने पछिल्लो समय तातो या चिसो पानी, तातो या चिसो दूधसँग मात्र नभई विभिन्न फलफूलको रस या दहीसँग समेत खान थालिएको छ । कर्नफ्लेक्स, मुस्ली, चोकोज, ओट्स जस्ता पूर्ण प्रशोधित खाद्यवस्तुभन्दा सातु कैयौँ गुणा स्वास्थ्यवर्धक छ । 

सातुमा भिटामिन, खनिजहरू, क्याल्सियम, प्रोटिन र फाइबरसमेत पर्याप्त पाइने हुँदा सबै उमेर समूहका लागि यो एक सन्तुलित आहार मानिन्छ । अचेल व्यावसायिक समूहले सातुलाई बजारीकरणसमेत गरेका छन् । काजु, बदाम जस्ता महँगा वस्तु मिसाएर सातु बनाई बजारमा पठाउने गरिएको देखिन्छ । 

तर सबैभन्दा स्वस्थकर सातुचाहिँ हामीले परम्परागत रूपमा बनाउने सातु नै हो । जुन माटोको हाँडीमा भुटेर ढुङ्गाको जातोमा पिसिन्थ्यो र ताजा ताजा खाने गरिन्थ्यो । अचेलका व्यावसायिक सातु धेरै दिन बजारमा रहने हँुदा त्यसको प्रभावकारिता र स्वस्थता समेत ह्रास भएको हुन्छ । तिनमा फाइबर पनि कमै पाइन्छ ।

सातु एकै दिन पटक पटक खानु राम्रो मानिन्न र सुत्ने बेलामा पनि सातु नखाँदा राम्रो । सातु खाँदाखाँदै पटक पटक पानी पिउनु पनि राम्रो होइन र चपाइरहनु पनि उत्तम होइन । मिठो भयो भनेर धेरै सातु खानु पनि राम्रो हुँदैन । 

वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयामा जौको सातु र सर्बत खाने चलन परापूर्वकालदेखि चल्दै आएको छ । सातुको महìव आयुर्वेदमा समेत प्रस्ट पारिएको छ । सातुलाई कण्ठरोग, नेत्ररोग, भोक, प्यास, थकान, उल्टी आदि नाशक भनेर उल्लेख गरेको छ । नियमित सातु खाने मानिसलाई मधुमेह, कुष्ठरोग, क्षयरोग नहुने बताएको छ । लामो यात्रामा हिँड्दा या कामकाजमा व्यस्त हुनेले नियमित रूपमा सातु खाने परम्परा विगतमा थियो । 

ग्रीष्म ऋतुमा सातुको सर्बत

सातुको सर्बत नेपालमा मात्र नभई भारतमा समेत लोकप्रिय छ । शीतलताका लागि पनि सातु निकै राम्रो खाद्यवस्तु मानिन्छ । गर्मीयाममा चनाको सातु, कागती र चिसो पानी घोलेर पिउँदा पनि पर्याप्त शीतलता मिल्छ । कुनै पनि सातुमा दूध या दही घोलेर खाँदा त्यसको स्वाद बढ्छ र थप पोषिलो पनि हुन्छ । दही र केरामा मिसाएर खाँदा पनि सातुको स्वाद बढ्छ । 

सर्बतका रूपमा उपभोग गर्न सातुमा नुन, पानी र कागती मिसाउँदा हुन्छ । गुलियो मन पराउनेले सक्खर, मिस्री, मह या ‘फ्रुट सिरप’ मिसाएर पिउँदा उत्तम हुन्छ । मकै, भटमास, गहुँ, चना, केराउ, जौँ, गहुँ भुटेर बनाइएको सातु उत्तम र सर्वप्रिय सर्वोतम सातु मानिन्छ । 

कडा शारीरिक व्यायाम गर्ने खेलाडी, सैनिक तथा कडा परिश्रम गर्नेका लागि सातुको सर्बत उत्तम पेय पदार्थ हुन्छ । सातुले तत्काल ऊर्जा सञ्चार गर्ने हुँदा बिहान जिम, व्यायाम र योग गर्नेहरूले पनि सातुको सर्बत पिउन सक्छन् । गाउँघरमा बिहानै मेलापात, घाँस दाउरा गर्नेले पनि सातु सर्बत पिउने गरेको हामी देख्छौँ । 

स्कुल र कलेज अध्ययन गर्ने विद्यार्थीले पनि नियमित रूपमा सातुको सर्बत पिउन सक्छन् । पानीको तुम्लेटमा सातु सर्बत घोलेर दिनभरि थोरै थोरै पिउँदा पनि उत्तम हुन्छ । बच्चामा सातुको सर्बत पिउन बानी पार्नका लागि काजु, बदाम, स्ट्रबरी सिरप मिसाएर सर्बत बनाउन सकिन्छ ।

सातुको परोठा 

सातुबाट परोठा पनि बनाउन सकिन्छ । मैदामा नुन हालेको सातु भरेर बेल्ने अनि तावामा सेकेर परोठा बनाउने गरिन्छ । पाकेको परोठामा थोरै घिउ हाली डामेर गोलभेँडाको अचार या छोपसँग नास्ताका रूपमा लिन यो परोठा खान सकिन्छ । यो व्यञ्जनका लागि पिठो मुछ्दा थोरै नुन हालेर मुछ्नु पर्छ र मुछेको पिठोलाई आधा घण्टा छोपेर राख्नु पर्छ । सातु भरेको परोठामा गुलियो मन पराउनेले सातुको साथमा सक्खर पनि हाल्न सक्छन् ।   

Author

आरबी बुढाथोकी