• ६ जेठ २०८१, आइतबार

किन ढिला भयो मनोनयन दर्ताको विवरण सार्वजनिक गर्न ?

blog

काठमाडौं, वैशाख १३ गते। स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार भएको मनोनयन दर्ताको अन्तिम विवरण मंगलबार अपराह्नसम्म सार्वजनिक हुन सकेको छैन।नेट, बिजुली र अन्य प्राविधिक कारणले मनोनयनको अन्तिम नतिजा प्रकाशन गर्न ढिला भएको निर्वाचन आयोगले जनाएको छ। 

९० प्रतिशत डेटा प्रविष्टिको काम भइसकेको र सबै जिल्लामा प्रविष्टिको काम सकेपछि एक मुष्ट रुपमा अन्तिम मनोनयन दर्ताको नतिजा प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो।स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले दुई दिन उम्मेदवारी मनोनयन दर्ताको समय दिएको थियो।वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदैछ ।

मनोनयन दर्ताको पहिलो दिन वैशाख ११ गते ३ प्रतिशतले मात्रा उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।आयोगका अनुसार मंगलबार पाँच बजेसम्म एक लाख ४७ हजार २७४ जनाले मनोनयन दर्ता गरेको विवरण आइसकेको छ।प्रवक्ता पौडेलले उम्मेदवारको अन्तिम विवरण सार्वजनिक गर्न समय लाग्ने जानकारी दिनुभयो।

‘धेरै ठाउँको विवरण आइसकेको छ।तर, कतिपय ठाउँमा प्रविधिक समस्या हुँदा पूर्ण विवरण आइसकेको छैन’, प्रवक्ता पौडेलले भन्नुभयो।इन्टरनेट, बिजुली र सर्भरको समस्या हुँदा पूर्ण विवरण सार्वजनिक गर्न ढिला भएको उहाँको भनाइ छ।

आयोगले कम्प्युटर प्रणालीमार्फत् मनोनयन दर्ता भएको कागजात प्रमाणित गरी डेटा प्रविष्ट गरेको पौडेलले जानकारी दिनुभयो।

‘कागजको काम हिजो (सोमबार) राति १० बजेसम्म सिध्याएर त्यसपछि मात्रै कम्प्युटरमा डेटा प्रविष्ट गर्न सुरु गरेका हौं,’ उहाँले  भन्नुभयो।मंगलबार साँझसम्म सबै विवरण सार्वजनिक हुने पौडेलको दाबी छ ।

प्रदेशगत विवरणको अवस्था के छ ?

प्रदेश १ का प्रदेश निवार्चन अधिकृत लेवन काश्यप अधिकारीका अनुसार दिनरात काम गरेर विवरणलाई अन्तिम रुप दिने काम भइराखेको छ।‘दिनरात नभनी विवरण संकलनको काम भइराखेको छ’, उहाँले भन्नुभयो, ‘धेरै ठाउँको विवरण संकलन गर्नेक्रम सकिएको छ ।’ 

गण्डकी प्रदेशका निवार्चन अधिकृत हुमनाथ पराजुलीका अनुसार धेरै सदस्यको मनोनय दर्ता हुने भएकोले विवरण संकलनमा समय लागेको हो।पहिलो दिन धेरै मनोनयन दर्ता नभएको र दोस्रो दिन एकसाथ मनोनयन दर्ता हुँदा समय लागेको उहाँको भनाइ छ। ‘पहिलो दिन धेरै मनोनय दर्ता भएन्।सोमबार मनोनय ढिला हुँदा ५ बजेसम्म लाइन बसेकाको रातिसम्म पनि मनोनय दर्ता गर्नुपरेको थियो’, उहाँले भन्नुभयो।

कागजी डेटालाई कम्प्युटरमा उतार्न गर्न समय लागेको छ।अन्य प्रविधिक समस्याले गर्दा केही समय ढिला भएको उहाँले बताउनुभयो।गण्डकी प्रदेशमा ९० प्रतिशत डेटा प्रविष्ट भइसकेको छ।सबै डेटा संकलन भएपछि एकसाथ प्रकाशन गर्ने उहाँको भनाइ छ।

लुम्बीनी प्रदेशका निर्वाचन अधिकृत नारायणप्रसाद भण्डारी मनोनय दर्ता गर्न ढिलाई हुँदा विवरण संकलन गर्न समय लागेको बताउनुहुन्छ।‘११ गते थोरैले मात्र उम्मेवारी दर्ता गर्नुभयो।१२ गते अन्तिम अवस्थामा मात्र मनोनय दर्ता भएको छ’, उहाँले भन्नुभयो, ‘कम्प्युटरमा विवरण संकलन गर्न समय लागेको हो ।’ मंगलबार ढिलागरी नतिजा प्रकाशन गर्ने उहाँको भनाइ छ।

 सुदूरपश्चिम प्रदेशका निर्वाचन अधिकृत पे्रमराज भट्टका अनुसार सो प्रदेशका धेरै दलले ढिलागरी मनोनयन दर्ता गरेकोले विवरण संकलनको काममा ढिलाई भएको बताउनुहुन्छ।कागजपत्र प्रमाणि भइसकेकाले अब चाँडै विवरण सार्वजनिक हुने उहाँको भनाइ छ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।