‘अतिथि देवो भवः’ हाम्रो मौलिक आतिथ्य परम्परा र संस्कारबोधक मन्त्रवाक्य हो । आफ्नो घरमा आएका पाहुनालाई देवता समान मानेर स्वागतसत्कार गर्नाले प्राप्त हुने फल धार्मिक मान्यता अनुरूपको मानिन्थ्यो । अब भने यसरी आउने अतिथिको पहिचान पर्यटक भएको छ र उनीहरूलाई सशुल्क सेवा उपलब्ध गराउने क्षेत्रले उद्योगको स्वरूप ग्रहण गरेको छ । विश्वमा पर्यटन उद्योगमार्फत सम्पन्न बनेका मुलुक धेरै छन् । विदेशी मुद्रा आर्जनको महत्वपूर्ण क्षेत्र भएका कारण पर्यटकलाई आकर्षित गर्न, बसाइ लम्ब्याउन प्रयास गरिन्छ तर नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएर पनि पर्याप्त पूर्वाधार तथा प्रसार नहुँदा उद्देश्य अनुरूपको लक्ष्यमा पुग्न बाँकी छ । यद्यपि सरकारले विभिन्न समयमा भ्रमण वर्षको घोषणा तथा स्थान विशेषमा महोत्सव गरेर अभियान सञ्चालन गर्दै आएको विदित हुन्छ ।
पर्यटन प्रवर्धनकै सन्दर्भमा केही समयअघि ‘पर्यटन राजधानी’ घोषणा गरिएको गण्डकी प्रदेशको पोखराकै सेरोफेरोमा ‘अन्नपूर्ण महोत्सव’ आयोजना गरिएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुई लासनालले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको स्मृतिमा मनाउन थालिएको अन्नपूर्ण दिवसका अवसरमा नेपालस्थित विभिन्न देशका कूटनीतिज्ञसहितको टोलीले ‘मौरिस हर्जोग पदमार्ग’ मा यात्रा गरेको छ । मुलुकको पर्यटन प्रवर्धनमा यसले थप सघाउ पुर्याएको अनुभव गरिएको छ ।
आजभन्दा ७४ वर्षअघि पहिलो पटक अन्नपूर्ण हिमालको सफल आरोहणको कीर्तिमानसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमाझ चिनाउन हर्जोग र लासनालको टोलीले पुर्याएको योगदानलाई पर्वतारोहणका क्षेत्रमा अविस्मरणीय मानिन्छ । ८०९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेर आठ हजार मिटरमाथिका हिमाल आरोहणको पहिलो इतिहास अन्नपूर्णबाटै कोरिएको थियो । अन्नपूर्ण आरोहणको तीन वर्षपछि मात्र सगरमाथाको सफल आरोहण भयो । अन्नपूर्णको सफल आरोहण भएकै दिनलाई विसं २०७६ देखि ‘अन्नपूर्ण आरोहण दिवस’ का रूपमा मनाउन थालेर इतिहासलाई जीवन्त राख्ने प्रयास हुँदै आएको छ ।
हर्जोगले सफल आरोहण मात्र गर्नुभएन, आरोहणको अनुभव समेटेर पुस्तकसमेत लेख्नुभयो । उहाँले लेखेको पुस्तक ‘अन्नपूर्णमा पहिलो पाइला’ को २० करोड प्रति बिक्री भएर विश्वमा धेरै प्रति बिक्री हुने पुस्तकमध्येमा परेको पर्यटन व्यवसायीको भनाइ छ । संसारमै आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने पहिलो कीर्तिमानी हर्जोगले दुवै हातखुट्टा गुमाउनु परेको दुःखद घटना पनि आरोहणको इतिहाससँग जोडिएको छ । तत्कालीन सरकारले हर्गोजलाई ‘गोरखा क्रस’ पदक प्रदान गरेर सम्मान गरेको थियो । त्यस समयमा प्रदान गरिएको पदक नेपाल सरकारद्वारा विदेशी नागरिकलाई प्रदान गरिएको उच्च तहको सम्मान हो । फ्रान्स सरकारले पनि उहाँको उच्च सम्मान गर्नुका साथै राष्ट्रका महत्वपूर्ण जिम्मेवारीसमेत प्रदान गरेको इतिहास छ । उनै कीर्तिमानी आरोही एवं लेखकको स्मृतिमा नामकरण गरिएको पदमार्गमा कूटनीतिज्ञको टोलीले पदयात्रा गरेर सम्मान प्रकट गर्नु आफैँमा महत्वपूर्ण छ ।
विभिन्न देशका राजदूत, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव, कूटनीतिज्ञहरू एवं सञ्चारकर्मीसहितको टोली मौसम प्रतिकूल हुँदाहुँदै पनि अन्नपूर्ण हिमालको फेदीसम्मको पैदल यात्रा गर्न सफल भएको हो । बादल र तुँवालोले छेकेको भए पनि अन्नपूर्ण र माछापुच्छ«े हिमालको लुकामारीको दृश्यले लोभ्याएको सहभागीको अनुभव छ । हिमालय शृङ्खला संसारकै मूल्यवान् सम्पदा भएकाले यसको संरक्षण गर्नु विश्वको साझा जिम्मेवारी भएको कूटनीतिज्ञको अभिमत मननीय छ । हिमाली संस्कार र संस्कृति बहुमूल्य सम्पदा भएकाले प्रचारप्रसार गर्न सक्दा विश्वभरका पर्यटक तान्न सकिने उहाँहरूको भनाइ जति महत्वपूर्ण छ, प्रचारप्रसारका लागि उहाँहरूद्वारा गरिएको पदयात्रा उत्तिकै महत्वपूर्ण छ । पदयात्राको यो अवसर नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले जुटाएको थियो । वार्षिक कार्यक्रमबमोजिम आइतबार र सोमबार विशेष कार्यक्रम आयोजना गरेर अन्नपूर्ण दिवस मनाइएको हो । प्रकृति, पर्यटन र नेपाललाई छुट्याउन नमिल्ने भन्दै युवा पुस्तालाई यस्ता सुन्दर गाउँ छाडेर विदेश नजान उहाँहरूले भावुक आग्रह गर्नुभएको छ । यसप्रति राज्य संयन्त्रसमेत संवेदनशील हुन आवश्यक छ ।
अन्नपूर्ण दिवसको मुख्य समारोहमा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको समेत सहभागिता रह्यो । श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’ का रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आगामी वर्ष सरकारले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताउँदै नयाँ नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्धनमा जोड दिन आग्रह गर्नुभएको छ । सरकारको योजना र लक्ष्य घोषणामै सीमित नरही पर्यटनमैत्री कार्यक्रमहरू अगाडि सार्न वाञ्छनीय छ ।