• १३ साउन २०८१, आइतबार

‘प्रदेश सरकारको नीति तथा कार्यक्रम सकारात्मक छ’

blog

फाइल तस्बिर

अत्तरिया (कैलाली), जेठ २१ गते । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सकारात्मक रहेको धारणा सार्वजनिक गरेको छ ।

संसदीय दलले आज धनगढीमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले आगामी आवका लागि ल्याएको नीति तथा कार्यक्रम विगतका वर्षको तुलनामा सकारात्मक धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नीति तथा कार्यक्रम जनताको जीवनस्तरसँग जोडिएर आएको बताउनुभयो । 

“यो विगतका वर्षको तुलनामा प्रगतिशील छ । सिद्धान्त र प्राथमिकताका आधारमा नीति तथा कार्यक्रम आएको छ । यही कार्यक्रमका आधारमा भोलिको बजेट अगाडि बढ्नेछ”, उहाँले भन्नुभयो । हिजोका दिनमा नीति तथा कार्यक्रम मुख्यमन्त्री केन्द्रित भएर आउने गरेकामा यसपटक फरक तरिकाले आएको भन्दै रावलले स्वागत गर्नुभयो । आइतबार सुदूरपश्चिम प्रदेश सभामा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । रासस