• १३ साउन २०८१, आइतबार

सदस्यता अनलाइन अभिलेखीकरण विषयक अन्तरक्रियात्मक अभिमुखीकरण

blog

भावना जोशी

अत्तरिया, जेठ १९ गते । नेकपा एमालेका स्थायी समिति सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाउने गरी अगाडी बढ्न पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । 

कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सङ्गठन विभागले आयोजना गरेको सदस्यता नवीकरण तथा अनलाइन अभिलेखीकरण विषयक अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता अधिकारीले तीनै तहको सरकारमा एकल बहुमतको सरकार बनाउने गरी अगाडी बढ्न निर्देशन दिनुभएको हो । अहिले एमाले मुलुककै सबैभन्दा बलियो, लोकप्रिय र सर्वाधिक रुचाइएको पार्टी रहेको बताउँदै पार्टीलाई प्रविधिसँग जोड्नु पर्ने बेला आएको बताउनुभयो । 

"अहिले पार्टी केन्द्रले सदस्यहरूको शुद्धीकरणबाट अगाडि बढाउने लक्ष्य सहित यो अभियान चलाइरहेको छ," उहाँले भन्नुभयो, "पार्टी सदस्यता शुद्धीकरण अभियानलाई अगाडी बढाउन पनि यहाँ उपस्थित भएका हौँ । सदस्यहरूको विवरण र अभिलेख अब अनलाइन पद्धतिबाट लैजान्छौँ ।"

पोलिट ब्युरो सदस्य तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले एमाले प्रति जनमत बढ्दै गएको भन्दै अझै जनता केन्द्रित कार्यक्रम र गतिविधि बढाउनु पर्ने बताउनुभयो । अहिले तत्काल सुदूरपश्चिम प्रदेश सरकारमा एमाले सहभागी नहुने भएपनि नीति तथा कार्यक्रम र बजेटका लागि सरकारलाई सुझाव दिने स्पष्ट पार्नुभयो । सुदूरपश्चिम प्रदेश सङ्गठन विभागले आयोजना गरेको एक दिने अन्तरक्रिया कार्यक्रमको सञ्चालन प्रदेश सङ्गठन विभाग प्रमुख रणबहादुर चन्दले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता पार्टी प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले गर्नुभएको थियो ।