• ११ पुस २०८१, बिहिबार

अनुभूतिको सजलतामा उनिएका कविता

blog

विसं २०८० को मध्यतिर कलम प्रकाशन प्रालि काठमाडौँले सार्वजनिक गरेको नवीन शैली र प्रयोगात्मक प्रस्तुतिको काव्य व्यञ्जना हो, ‘त्यसरी त कहिल्यै सोचिएन’ । एक दशकको काव्य यात्रामा कविवर निर्भीकजङ्ग रायमाझीका ५० वटा फुटकर कविताको सङ्ग्रहका रूपमा आएको यो पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ । 

पहिलो खण्ड अन्तर्गत मनको ‘आँखीझ्यालमा’ १० वटा बेग्लाबेग्लै लेखाजोखा भएका जीवन चेतनाका आलापहरू छन् । कुनै ती परस्पर खण्डित छन्, कुनै ती सिलसिलेवार गतिले निसृत पनि । अनुभूतिको सजलतामा उनिएका कला गाथा हुन् यी । 

दोस्रो खण्ड अन्तर्गत देश देशाटनमा वर्णीत १० भिन्न उपशीर्षकले कविताको बकपत्र ऐलान गरेका छन् । संस्कृति, पहिचान, संवेदनशीलता र सत्ता शक्तिको दम्भात्मक मादकतामाथि विहङ्गम केन्द्रित यी कविताहरूले अभिव्यक्तिको उच्चतम निष्ठालाई प्रस्तुत गरेका छन् । 

तेस्रो खण्ड अन्तर्गत ‘सपना देख्छ जिन्दगी’ भित्र रहेका कविताहरूले आस्था, मनोवाञ्छा, दर्शन, न्याय, समानता र मूल्यबोधमाथि पहिचान संस्कृतिको शङ्खघोष गरेका छन् । प्राञ्जल भाव भाषाको प्रयुक्तिले काव्य सौन्दर्यलाई सौष्ठवमय तुल्याइएको छ । 

चौथो खण्ड अन्तर्गत ‘अन्त कतै हिँडेको थिएँ’ मा ‘आत्मप्रलाप’, सन्ध्यावसन्त, विरहवेदान्त, प्राकृतरञ्जना, ऋतुउत्सर्ग जस्ता रागात्मक संवेदनशीलताद्वारा यी कविताले एक पृथक् कस्मोलोजीको बयान गरेका छन् । उत्सुकता, उत्तेजकता वा रहस्य रोमाञ्चकताका वृत्तमा अनुगुञ्जित चौथो आयामभित्र प्रवेश गर्ने द्वारहरू आलङ्कारिक अनुभूतिका सुयोग हुन् । पाँचौँ खण्ड अन्तर्गत ‘किस्ता किस्तामा स्मृति’, जीवन दर्शन र सत्यको निष्कर्षमा अनुबन्धित छन्; यी दशकाङ्शबोधी, भावप्रवण संवेदनाहरू । 

कवितालाई कविताकै उचाइ र विम्ब चेतनाकै श्रेष्ठतामा उभ्याएर ऐन्द्रीय संवेदनामा आइपर्ने ‘वियोग, वेदना र निराशाको चकोरबिच आशा जगाउने माध्यम कविता’ बनेको प्रस्ट दृष्टान्त छ । यहाँ कवितालाई निरीक्षण मात्र गरिएको छैन, थप अनुसन्धानको विषय बनाइने योग तयार भएको छ । चेतना र अनुभूतिको लयात्मक संवेगमा पल्लवित यी पाँच खण्डमा विभाजित कविताले जीवनदर्शनको पाँचौँ आयामलाई सविस्तार उद्घाटन गरेका छन् । जीवनलाई, कवितालाई, जीवन र कवितादेखि अस्पृश्य रहेको नादब्रह्म र अक्षरब्रह्मसित जोडिएको ब्रह्माण्डलाई छैटौँ आयामबाट उद्घोष र परीक्षण गरिनुपर्ने स्वीकारोक्तिमा निर्भीकको काव्यस्वर विप्लवी अवस्थामा रहेको स्पष्ट हुन्छ । एक दशकको काव्य यात्रामा हजारौँ लाखौँ माइलको यात्रानुभूतिले द्वन्द्वित तुल्याइएका यी कविको अन्तर्मनसित स्पर्श गर्न त्यति सजिलो छैन । 

कोमल कल्पनामा, एक अविच्छिन्न आन्दोलित पहरमा, वेदनाको तह तह पत्रमा, यथार्थसितको सूक्ष्म काव्यसत्तामा, माटो र माटोप्रेमका गर्वानुभूतिहरूमा, कविकै घोषणाबमोजिम एक्लोपनका उत्सवहरूमा, हराएर जीवन र जगत्लाई स्मृतिका डोबहरूमा टेक्तै टेक्तै आइपुगिएका र भेटिएका यी विम्बानुभूति कविताको सारसौँदो स्वरूप भएका हुन् । जीवनको 

‘आँखीझ्याल’ बाट प्रारम्भ भएका सङ्ग्रहका यी कविताहरू ‘अन्तिम कविता’ मा आइपुगेर पुनः जीवनको उषाकाल चियाउन आइपुगेका छन् । 

कविताको अन्त्य छैन । न त विश्रान्तिलाई जीवनको अन्त्य मान्न सकिन्छ । स्मृतिका डोबहरू थालिन्छन् त्यहाँ । अनुभूतिका पदमार्गहरू धमाधम हालिन्छन् त्यहाँ । 

कविताको परिभाषा हुन सक्तैन । न त जीवनकै स्वरूपलाई आयामिक चिन्तनका अतिरिक्त क्वान्टम मेकानिक्सबाट परिभाषित तुल्याउन सकिन्छ । स्मृति जस्तै कविताका पार्टिकलहरू र अब्जेक्टिभहरू तह तह अनुभूत गर्न सकिन्छ, अथ्र्याउन वा भाग लगाउन त्यति सरल छैन ।  कवि चेतना, जीवन र कविताकर्मलाई साधारणतामा असाधारणता भोग गर्ने कुनै चेष्टा, एक लीलागाथा सरह हुन्छ । ‘एकान्तको उत्सवमा मनलाग्दी शब्द थपेर’ पीडा वेदनाका शास्त्रीय स्वर हालिएको भाका काव्य लय सरह हुन्छ । 

निर्भीकको कविले त्यहाँ त्यसरी नै अर्थ र मूल्य खोजेको छ, जसरी च्याँख्लेमा शीतले छोपेको पहाडभित्र कविले छोडेका स्मृतिका डोबहरू अझै जीवित र सुरक्षित रहेको अनुबोध छ । 

कवितामा रूप, अलङ्कार, प्रेमप्रणय, प्रकृतिबोध वा सौन्दर्य चेतनाका अवयवहरूलाई जीवनदर्शनको एक विशिष्ट अङ्ग ठह¥याउने रायमाझीको काव्यचेतना समाजमा देखा परेका विकृति र विसङ्गतिका विरुद्ध, असमानता र अव्यवस्थाका विरुद्ध एक विप्लवी स्वर प्रस्तुत भएको छ । ‘शीतल निवासको गर्मी’ र ‘मेरो पनि एउटा देश थियो’ जस्ता कविताले त्यही विप्लवी चेत र त्यही स्वाधीन मन्थन सम्प्रेषण गरेका छन् ।  पहिलो खण्डमा देखिएको मनको आँखीझ्यालमा सर्वप्रथम कवितालाई हेर्ने क्वान्टम अभीष्टता छ । सूक्ष्म सत्ताको खोजी थियो यो । कविताको स्पर्शानुभूतिमा जीवन पनि पहारिलो घाम हुँदै बाक्लिएको छ अघिल्तिर । त्रासदी छ जीवनसित । चुनौती छ कवितासित । जीवनले बिउँझाउने विम्बहरू हुन्, प्रेम र विरह । दुवै ती, एकै ठाउँ रहँदैनन् तर छन्, दुवै ती अन्योन्याश्रित । 

आँखीझ्याल, नउघारी गरिएको ‘बिदाइमा’, ‘त्यसरी त कहिल्यै सोचिएन,’ किन यस्तो हुन्छ प्रतिप्रश्न छ, आफैँले आफैँलाई भेटेर एक दिन । विगतको अनुभव, वर्तमानको पीडा सँगालेर अनिश्चयको भविष्यसित, साक्षात्कारित गर्ने अदम्य ऊर्जा, त्यो समयलाई लल्कार्ने ठाउँमा आइपुगेको छैन । कवि निर्भीकको चेतनता यथास्थितिलाई रक्षा गर्दै शक्ति र सत्ताको दम्भमा अल्मलिन नचाहेको अभिनय गर्छ । प्राप्ति मात्र जीवनको लक्ष्यितता होइन, अदृश्य वा दूरस्थ रहेको कुनै उपलब्धि अनुपलब्धिको दोसाँध पहिल्याइने जारी व्रmम, ती त्यहाँ मुखरित छ, जीवनेतरसित । 

कति कुरा सोचेर, योजना बनाएर वा गन्तव्य निर्धारण गरेर कार्यरूप दिइन्छ र नसोचिएकै र अनिर्दिष्टता नै जीवनसित साक्षात्कारित विषयीचेत हुन् । यिनलाई विम्बले व्यवस्थापन गर्ने हुन् । प्रतीक व्यञ्जनाले सरलीकृत तुल्याउने  हुन् । आँखीझ्याल अन्तर्गत प्रतिपादन गरिएका काव्य विम्बले आआफ्ना उचाइ तय गरेका छन् । सर्वाधिक ती परिष्कारमा जीवनको लालित्य भर्न उद्यत छन् । 

दोस्रो खण्ड देश देशाटनमा व्यङ्ग्य, विद्रोह, सुधार चेतनाका उद्घोषहरूले सङ्ग्रहको काव्यशक्तिमाथि परीक्षण गर्न आइपुगेको छ । सर्जक पनि समाजको दरो प्रतिपक्ष भएको हुँदा मुलुकमा व्याप्त बेथिति, विसङ्गति वा विकृतिका विरुद्ध चेतना र जागरणको हुङ्कार गर्छ । यो हुङ्कार यतिमै मौन बस्दैन । स्वाभिमान र स्वाधीनता स्थापना गर्न ऊर्जावान् अभिव्यक्ति सम्प्रेषण गर्न आइपुग्छ । 

समकालीन नेपाली कवितामा नौलो प्रयोग र मौलिक चिन्तन गर्ने कवि रायमाझीको स्वर आफ्नो पुस्तालाई उछिनेर जाने व्रmममा अग्रभाग ओगट्न पुगेको अनुभव हुन्छ । 

भारतीय साहित्यका शमशेरबहादुर सिंह र हेमन्त कुकरेती वा जर्मन कवि हान्स माग्नुस एत्सेन्सवर्गरका झैँ कविताको समग्र चेतनालाई हेर्ने दृष्टिकोण रायमाझीको सूक्ष्म र अनुसन्धेय छ ।   

रायमाझी पछिल्लो चरणमा उदाएका एक प्रखर शक्तिशाली कवि हुन् । यिनले प्रयोग गरेका विम्ब चेतना र प्रतीकीय शैली व्यञ्जना नितान्त नवीन छन्, मौलिक छन् । कवितालाई कविताको श्रेष्ठतामा र काव्यात्मक संवेदनशीलतालाई अनुभूतिको गहिराइमा परख र प्रयोग गर्ने अद्भुत क्षमता सङ्ग्रहभित्रका अधिकांश कविताले पुष्टि गरेका छन् ।  

Author

महेश प्रसाई