काठमाडौँ,मङ्सिर ६ गते । मधुमेहसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । इन्टरनेशनल डाइबेटिज फेडेरेसन (आइडीफ) साउथ इस्ट एशियाको वार्षिक सम्मेलन यो वर्ष डाइबेटिज इन्डोक्राइनोलोजी एशोसिएसन नेपालले काठमाडौँमा गरेको हो ।
सम्मेलनमा दक्षिण पूर्वी एसियामा मधुमेह जनस्वास्थ्यको समस्याका रुपमा बढ्दै गएकोमा विज्ञले चिन्ता व्यक्त गरेका छन् ।
सम्मेलनमा आइडीएफका अध्यक्ष डा।वंशी सबोले दक्षिण पूर्वी एसियामा मधुमेहका बिरामी बढ्दै गएकोले संयुक्त रुपमा निर्देशिका बनाएर अगाडि बढ्ने समय आएको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “विश्वको अन्य देशहरुभन्दा साउथ इस्ट एशियाली देशमा मधुमेहका बिरामी बढ्दै गएका हुनाले संयुक्त रुपमा गाइडलाइन बनाएर मधुमेह नियन्त्रण गर्ने सयम आएको छ ।”
खानपान र शारीरिक कसरतमा ध्यान दिएमा धेरै हदसम्म मधुमेह कम गर्न सकिने उहाँको भनाइ छ । नेपालमा उक्त सम्मेलनको मुख्य आयोजना गरेको यसपटक डाइबेटिज इन्डोक्राइनोलोजी एशोसिएसन नेपालका अध्यक्ष डा।अमित शाक्यले मधुमेहका क्षेत्रमा भएका नयाँ नयाँ उपलब्धी, उपचार प्रविधि तथा ज्ञान एक आपसमा आदानप्रदान गर्नका लागि सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।
डा.शाक्यले भन्नुभयो, “बढ्दो मधुमेह रोग, यसको उपचार तथा नियन्त्रणमा भएका नयाँ नयाँ उपलब्धी, उपचार प्रविधि तथा ज्ञान एक आपसमा आदानप्रदान गर्नका लागि सम्मेलनको आयोजना गरिएको हो ।” सम्मेलनमा यो क्षेत्रका २०० भन्दा बढी विज्ञ तथा चिकित्सकहरु सहभागी रहेको छ ।
जसमा ५० जना अन्तराष्ट्रिय विज्ञहरु रहेको आयोजक समितिका सचिव डा.सन्तोष शाक्यले जानकारी दिनुभयो । नेपालमा प्रत्येक वर्ष मधुमेहका बिरामी बढ्दै गएको छ।
नेपालमा प्रत्येक सात जना मध्ये एक जनामा मधुमेह हुने गरेको तथ्याङ्कले देखाएको छ ।
आयोजक समितिकी अध्यक्ष डा.डिना श्रेष्ठका अनुसार सम्मेलनमा मधुमेह, मोटोपन, खानपान, मधुमेहले निम्त्याउने अन्य गम्भीर रोग र समस्या लगायतका विषयमा प्रस्तुतीकरण छन्।