• १२ साउन २०८१, शनिबार

बौद्ध सम्पदाहरु जोड्नु आवश्यक

blog

समूहगत छलफलमा आफ्नो धारणा व्यक्त गर्दै पूर्वमन्त्री डा. केशवमान शाक्य (बायाँबाट दोस्रो) र अन्य सहभागी। तस्बिर : केदार भट्‍टराई

इस्लामाबाद (पाकिस्तान), जेठ १६ गते। बौद्ध सम्पदाका अध्येता तथा बौद्ध परम्पराविद्ले बुद्धसँग सम्बन्धित साझा सम्पदाको संरक्षण गर्दै शान्ति र समृद्धिका लागि नयाँ पुस्तामा तिनको ज्ञान प्रवाह गर्नुपर्नेमा सहमति जनाएका छन्। पाकिस्तानको विदेश मन्त्रालयद्वारा गान्धारबाट विश्वमा शीर्षकमा मङ्गलवार र बुधवार आयोजित दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त सहमति व्यक्त गरिएको हो। 

गान्धार बौद्ध परम्परामा महायान बौद्ध परम्पराको उद्गमस्थल मानिएको छ। यही क्षेत्रमा प्राचीन तक्षशिला विश्वविद्यालय पनि थियो, जसलाई हाल टक्सिलाको नामबाट चिनाइने गरेको छ। 

बौद्ध परम्पराको विकास गर्दा र शान्ति र समृद्धिको नयाँ आयाम खोज्दा गर्दा दक्षिण एसियाली तथा अन्य देशमा पनि रहेका प्राचीन बौद्ध सम्पदाको संयोजित परिपथको सञ्चालनमा पनि विज्ञले जोड दिएका छन्। बुद्धको जन्मस्थल नेपालको लुम्बिनी र गान्धारको सम्बन्ध स्थापना गर्दा अरु पनि बौद्ध सम्पदाहरुको संयोजन हुने विश्वास गरिएको छ।

गान्धाराको बौद्ध सम्पदा युरोप र चीनसँगको पनि सम्बन्ध स्थापनाको प्रवेशद्वार छ। प्राचीन रेशम मार्ग र ग्रिसेली परम्पराको बौद्ध मूर्तिकला गान्धारको विशेषता छ। यही क्षेत्रमा गाैतम बुद्धको पहिलो मूर्ति कुँदिएको र बौद्ध मूर्ति परम्पराको पनि विकास भएको मानिएको छ। 

त्यसैले यसमा विश्वको नै चासाे रहेको युनिभर्सिटी अफ टेक्सास, अस्टिनका वरिष्ठ अनसन्धानकर्ता नदिम ओमार तरारले बताउनुभयो। हामीले यी सबै कुराको प्याकेज बनाएर विश्वलाई दिनुपर्छ, उहाँले भन्नुभयो।

श्रीलङ्काको बुद्ध शासन, धार्मिक मामिला तथा संस्कृति मन्त्री विदुरविक्रम नायकेले बौद्ध सम्पदाको एकीकृत विकास र भावी पुस्तामा हस्तान्तरणका लागि एकीकृत कार्यजोना बनाएर काम गर्न आग्रह गर्नुभयो। त्यसका लागि विगत, वर्तमान र भविष्यका आधारमा काम गर्नुपर्ने सुझाव दिनुभयो।

पाकिस्तानको धार्मिक मामिला तथा आन्तरिक सद्भाव मन्त्री चौधरी सालिक हुसैनले जुनसुकै धर्म वा सम्प्रदायमा पनि अतिवाद समस्या रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्दै सद्भाव र सहअस्तित्वका आधारमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले त्यसका लागि कार्ययोजना बनाउन पाकिस्तान तयार रहेको पनि बताउनुभयो।

थाइल्यान्डको बौद्ध सङ्घका वरिष्ठ भिक्षु डा. अनिल शाक्यले बौद्ध परम्पराको संरक्षण र सम्बद्र्धन गर्न सबैभन्दा पहिले तिनमा हुने गरेको राजनीति अन्त्य गर्न सुझाव दिनुभयो। उहाँले पाकिस्तानको नाम नै पवित्रस्थल रहेको भन्दै गान्धार सभ्यताको पुनरुत्थान गरेर रेशम मार्ग र उत्तरापथको माध्यमबाट विश्व समुदायमा पहुँच दिन सकिने बताउनुभयो।

पाकिस्तानको हजारा विश्वविद्यालयको पुरातत्व विभागका अध्यक्ष प्राध्यापक सकिरुल्ला खानले गान्धारा मात्र नभई पाकिस्तानका सबै जसो स्थानमा बौद्ध सम्पदा रहेको तर ती सबैको अध्ययन, अनुसन्धान, उत्खनन र संरक्षण हुन नसकेको बताउनुभयो। 

पाकिस्तानका निमित्त विदेश सचिव मारियम मदिना आफताबले गान्धारा अन्तर सांस्कृतिक सम्बन्ध स्थापनाका लागि रणनीतिक सभ्यता विकासको स्थल रहेको भन्दै त्यसको संरक्षण र संवर्धन गरी विश्व समुदायमा प्रचार प्रसार गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताउनुभयो।

युवा पर्यटन सजजीकरण नेटवर्कका प्रमुख कार्यकारी अभिकृत जहुर दुरानीले राष्ट्रिय ध्वजावाहक पाकिस्तान एयरलाइन्सले बौद्ध परम्पराका मुलुकहरुमा प्रत्यक्ष हवाई सेवा सुचारु गरेर यस क्षेत्रको विकासका लागि विशेष पहल गर्नुपर्ने बताउनुभयो।

नेपाली दूतावासमा अन्तरक्रिया

इस्लामाबादस्थि नेपाली दूताबासले सम्मेलनमा आएको प्रतिनिधि मण्डल र पाकिस्तानमा रहेको नेपाली समुदायसँग अन्तरक्रियाको आयोजना गर्यो। सम्मेलन स्थलमा नेपाली दूतावासले नेपालका बौद्ध सम्पदा र बौद्ध परम्परा झल्काउने गरी स्टल पनि राखेको छ।

त्यस अवसरमा पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले बौद्ध सम्पदाका स्थलको एकीकृत विकास गर्न सके पर्यटनको माध्यमबाट सम्बन्धित देशहरु लाभान्वित हुन सक्ने बताउनुभयो। त्यसका लागि नेपाल र पाकिस्तानबिच प्रत्यक्ष हवाई सेवा सुरु हुनसके राम्रो हुने उहाँले बताउनुभयो। 

पूर्वमन्त्री तथा नेपाली प्रतिनिधि मण्डलका प्रमुख डा. केशवमान शाक्यले बुद्धको जीवनका महत्वपूर्ण स्थर र बौद्धविचारका आधारमा नयाँ पुस्तालाई शिक्षित बनाउनु आवश्यक रहेको बताउनुभयो। 

डा. शाक्यका अतिरिक्त नेपाली प्रतिनिधि मण्डलमा ओमचरण अमात्य, भिक्षु डा. सुगन्ध महास्थविरलगायत हुनुहुन्छ।  

Author
केदार भट्‍टराई

उहाँ गोरखापत्र दैनिकको प्रमुख समाचारदाता हुनुहुन्छ ।

लेखक बाट थप