• १६ भदौ २०८१, आइतबार

दक्षिण कोरियामा प्रशिक्षण कार्यक्रम हुने

blog

जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्री ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १६ गते । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत् अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्रीले नेपालमा भएको समसामयिक राजनीतिक घटनाक्रम, प्रवासमा नेपाली दाजुभाइ दिदीबहिनीको अवस्था लगायतका विविध विषयमा छलफल हुने बताउनुभयो ।

उहाँका अनुसार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा कार्यक्रममा सहभागी हुनुहुनेछ । यसैगरी काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र केन्द्रीय सदस्य किरण पौडेलको सहभागिता रहने सो कार्यक्रम आगामी साउन १३ गते हुने समितिका महामन्त्री रामप्रसाद उप्रेतीले जनाउनुभयो ।

सभापति क्षेत्रीले कार्यक्रमको तयारी समितिमा सल्लाहकार प्रकाश धमलाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी गराउनुभयो । कार्यक्रममा नयाँ ढङ्गले सबै राजनीतिक दल, सामाजिक सङ्गठनका उपल्लो निकाय लगायतको चासो, गुनासो र जिज्ञासालाई सुन्ने, मनन गरी विदेशमा रहेका नेपालीको समस्यालाई निराकरण गर्ने विषय केन्द्रित रहनेछ । क्षेत्रीले कार्यक्रममा दक्षिण कोरियामा रहेका नेपालीको उपस्थिति रहने जानकारी दिनुभयो ।