• ३ असार २०८१, सोमबार

आर्थिक विकासका लागि कृषि र पशुधनको व्यावसायिक फार्मिङ आवश्यक : मुख्यमन्त्री अधिकारी

blog

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पोखरामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्नुहुँदै । तस्बिर: रमेश पौडेल

रमेश पौडेल
पोखरा, जेठ १४ गते ।
 गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मुलुकको आर्थिक विकासका लागि कृषि र पशुधनको व्यावसायिक फार्मिङ आवश्यक रहेको बताउनुभएको छ । सोमबार पोखरामा  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले सो भनाइ राख्नुभएको हो ।

उहाँले व्यावसायिक एवम् वैज्ञानिक कृषि प्रणालीको विकास गर्न सके मात्र कृषि क्षेत्रमा आकर्षण बढ्ने बताउनुभएको छ । निर्वाहमुखी कृषि परिपाटीलाई आधुनिक प्रविधियुक्त बनाए मात्र किसानहरूले आर्थिक उपार्जन गर्न सक्ने उहाँको भनाइ थियो । उहाँले  पशु सेवा विज्ञ केन्द्रलाई पशुपन्छीका लागि विशेषज्ञ अस्पतालको रूपमा विकास गर्न प्रदेश सरकार सहयोग गर्न तत्पर रहने बताउनुभयो ।

कार्यक्रममा भेटेरिनरी अस्पतालका वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले नौ करोड ९९ लाख ६९ हजार चार सय २८ रुपियाँ लागत अनुमान गरिएकोमा घटीघटाउमा टेण्डर हुँदा भवन निर्माणको जिम्मा पाँच करोड ५४ लाख ४७ हजार २६५ रुपियाँ आएको थियो भने भ्याट समायोजन गर्दा छ करोड ४४ लाख २० हजार लागतमा सम्पन्न हुन गएको जानकारी दिनुभयो । सो भवनको निर्माण जिम्मा सिद्धबाबा फूलजोर जेभीले पाएको थियो ।

पशुको शल्यक्रिया र अरू उपचार मूल भवनको छेउमै रहेको टिनको टहरामा गरिँदै आएकोमा अब नयाँ भवनमा शल्यक्रिया कक्ष, पोस्टअप वार्ड, एक्स-रे रुम, प्रयोगशाला, भिडियो एक्स-रे कोठालगायतका संरचनाबाट सेवा सञ्चालन गरिने सूचना अधिकारी सहदेव पौडेलले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री वेदबहादुर गुरुङले पशुपालन व्यवसायमा आएको आकर्षणले सो अस्पतालको सेवामा अझै टेवा पुर्‍याउने बताउनुभयो ।

गण्डकी प्रदेशका सदस्य लक्ष्मण पाण्डे, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, सचिव टङ्क प्रसाद प्रसाईँ, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशकी महानिर्देशक डा. प्रेरणा सेढाई भट्टराईलगायतले व्यावसायिक एवम् वैज्ञानिक कृषि प्रणालीको विकास गर्न सके मात्र कृषि क्षेत्रमा आकर्षण बढाउन सकिने बताउनुभयो ।