• ३ असार २०८१, सोमबार

कपिलवस्तुमा 'आईपिभि' खोप अभियान

blog

कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित बुद्ध पद्म माविमा खोप लगाइँदै । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलवस्तु), जेठ १३ गते । कपिलवस्तुको दश स्थानीय तहमध्ये सात स्थानीय तहमा पोलियो रोग विरुद्धको आईपिभि खोप अभियानको शुभारम्भ गरिएको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित बुद्ध पद्म माध्यमिक विद्यालयमा एक कार्यक्रममा आयोजना गरी खोपको शुभारम्भ गरिएको हो । जिल्लाका ३१ हजार ४ सय ६७ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आईपीभी खोप लगाइने छ ।

पाँच वर्ष मुनिका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जेठ १३ गतेदेखि २६ सम्म सम्बन्धित पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाइने भएको हो । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका खोप अधिकृत दिपाकर महर्जनका अनुसार २०७३ देखि २०७५ सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप अभियान सञ्चालन गरिएको बताउनुभयो । खोप लगाउन ६ सय ९६ वटा खोप केन्द्र निर्धारण गरिएको उहाँको भनाई छ ।

नेपालमा २०७३ जेठदेखि २०७५ असोजसम्म आईपीभी खोपको अभाव भएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीका अनुसार जिल्लाको कपिलवस्तु, शिवराज, महाराजगन्ज, बाणगंगा, कृष्णनगर, बुद्धभुमि नगरपालिका र विजयनगर गाउँपालिकामा जेठ १३ गते देखि र यशोधरा, मायादेवी र शुद्धोधन गाउँपालिकामा जेठ १६ गते देखि खोप लगाइने बताउनुभयो ।

खोप अभियानका लागि जिल्लामा दुई सय स्वास्थ्यकर्मी र १३ सय ९२ स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ  ।