• ४ फागुन २०८२, सोमबार

कांग्रेसद्वारा सङ्कल्पपत्र सार्वजनिक : स्याङ्जालाई देशकै नमुना जिल्ला बनाउने अठोट

blog

सङ्कल्पपत्र सार्वजनिक गरिँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, फागुन ४ गते ।
यही फागुन २१ गते हुने सङ्घीय निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्नो सङ्कल्पपत्र सार्वजनिक गरेको छ ।

उम्मेदवारद्वय भरतराज ढकाल र प्रकाश मल्लले स्याङ्जालाई देशकै नमुना जिल्ला बनाउने अठोटका साथ शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रका महत्त्वाकाङ्क्षी योजनाहरू अघि सार्नुभएको हो ।

सङ्कल्पपत्रमा युवा पुस्ताका भावनालाई सम्बोधन गर्दै सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

स्याङ्जाको आर्थिक मेरुदण्ड मानिने सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा सडक) लाई  ‘डेडिकेटेड टु–लेन’ बनाउने कार्यलाई मुख्य प्राथमिकतामा राखिएको छ भने आँधिखोला  बहुउद्देश्यीय विद्युत् परियोजनालाई अगाडि बढाउने बताइएको छ ।

यस्तै ग्रामीण सडकहरूलाई बाह्रै महिना चल्ने गरी कालोपत्रे गर्ने र प्रत्येक वडा केन्द्र जोड्ने,  ‘एक घर, एक धारा’ अन्तर्गत शतप्रतिशत स्वच्छ खानेपानीको सुनिश्चितता गर्ने महत्त्वकाङ्क्षा राखिएको छ ।

किसानका समस्या समाधान गर्न सङ्कल्पपत्रमा विशेष योजना अघि सारिएको छ भने किसानको बाली संरक्षणका लागि बाँदरको वैज्ञानिक स्थानान्तरण र क्षतिपूर्तिको व्यवस्था गर्ने, कृषि पेसा अँगालेका कृषकका सन्तानलाई विशेष छात्रवृत्तिको व्यवस्था, बाँझो जमिन उपयोगमा ल्याउन ‘साझेदारी कृषि प्रणाली’ लागू गर्ने लक्ष्य राखिएको छ ।

सङ्कल्पपत्रमा स्वास्थ्यलाई पनि प्राथमिकतामा राखिएको छ । हरेक वडामा विशेषज्ञसहितको प्राथमिक स्वास्थ्य क्लिनिक स्थापना गर्ने र अनिवार्य स्वास्थ्य बिमा योजनालाई प्रभावकारी रूपमा लागू गर्ने उल्लेख छ ।

‘स्वरेकको उडान, स्याङ्जाको पहिचान’ भन्ने नारासहित विश्व प्रसिद्ध प्याराग्लाइडिङ  गन्तव्य स्वरेक मैदानलाई अन्तर्राष्ट्रिय प्यारा–प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने सङ्कल्प गरिएको छ ।

नुवाकोट, डहरे देउराली, र सतौँ चण्डीथान जस्ता ऐतिहासिक क्षेत्रलाई पर्यटकीय सर्किटमा जोड्ने र ‘होम स्टे’ प्रवर्धन गर्ने योजना रहेको छ ।

समृद्ध नेपालको परिकल्पना साकार पार्न स्याङ्जाका सबै मतदाताको स्वामित्व हुने गरी एक वृहत् पब्लिक कम्पनी स्थापना गर्ने र सो मार्फत जिल्लाका मुख्य कृषि तथा पर्यटन परियोजना सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । यसले युवाहरूलाई आफ्नै माटोमा दक्ष प्राविधिक र उद्यमी बन्न प्रेरित गर्ने लक्ष्य राखिएको छ । कांग्रेस उम्मेदवारहरूले बीपी कोइरालाको आर्थिक नीति र वर्तमान समयको आवश्यकताबिच सन्तुलन कायम गर्दै स्याङ्जाली जनताको जीवनस्तर उकास्ने दृढ सङ्कल्प गर्नुभएको छ ।