• ३ फागुन २०८२, आइतबार

म्याग्दीमा चुनावी चहलपहल

आशीर्वाद लिँदै उम्मेदवार, विकासे प्रतिवद्धता माग्दै मतदाता

blog

मतदातालाई ढोगेर मत माग्दै उम्मेदवार । तस्बिरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  

बेनी, फागुन ३ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा चुनावी माहोल तातेको छ । उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् ।

ज्येष्ठ नागरिकलाई ढोग्दै, आशीर्वाद लिनेक्रम पनि बढेको छ । मतदातासँग दुःख सुख साट्दै उम्मेदवारहरु मत मागिरहेका छन् । मतदाताले यसपाली भने विकास निर्माण, सुशासन, राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रणबारे उम्मेदवारसँग स्पष्ट जवाफ माग्दै घरआँगनमै प्रश्न गरिरहेका छन् ।  

घर आँगनमा आएका उम्मेदवारसमक्ष मतदाताहरुले विकास निर्माण, सुशासन कायम, राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण कसरी हुन्छ भन्नेजस्ता प्रश्नहरु गरेका छन् । मतदाताहरुले २०८४ मा हुने निर्वाचन किन दुई वर्ष अगावै गर्नुपरेको जस्ता प्रश्नहरु उम्मेदवार र दलका नेताहरुसमक्ष राख्नेगरेका छन् । 

नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी, नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार अर्जुन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार डम्बर सुवेदी, नेकपा माओवादीका उम्मेदवार क्षेत्रबहादुर घिमिरे र स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । 

मतदाताहरुको घर–घरमा पुगेका उम्मेदवारले मतदातालाई फकाउन विभिन्न उपयाहरु गरेका छन् । उम्मेदवार बिहानदेखि राति अबेरसम्म टोलटोलमा गई चुनावी प्रचार–प्रसारमा व्यस्त देखिन्छन् । विशेषगरी घरदैलो कार्यक्रमलाई उम्मेदवारले तीव्रता दिएका छन् । 

जसरी भए पनि नतिजा आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धामा उत्रिएका उम्मेदवार भ्याइनभ्याइ दौडधूप गरिरहेका छन् । एकै दिन धेरै वस्ती र टोलहरुमा उम्मेदवारहरु पुगिरेहका छन् । फागुन ४ गते अघि चुनावी प्रचारप्रसारको कार्यक्रम गर्न नपाइने भएकाले अहिलेलाई उम्मेदवारसहित घरदैलो र भेटघाट कार्यक्रमलाई तिव्रता दिएको नेकपा (एमाले)  म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो । 

उम्मेदवारसँगै घरदैलोमा पुग्नुभएका श्रेष्ठले मतदाताहरुले विकास निर्माणभन्दा पनि राजनीतिक स्थिरता र सुशासनका मुद्दाहरु उठाएको उहाँले बताउनुभयो । मतदाताले देशमा राजनीतिक स्थिरता नभएका कारण समस्या उत्पन्न भएकाले यसका लागि दलहरुले ध्यान दिनुपर्ने सुझाव दिएको उहाँको भनाइ छ । 


कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले विशेष महाधिवेशन पछि कांग्रेसले सांगठानिक रुपमा आमुल परिवर्तन गरेर चुनावमा आएकाले मतदान गर्न मतदाता समक्ष अनुरोध गर्दै घरदैलो गरिरहनुभएको छ । उहाँले भन्नुभयो, ‘‘म अहिले दैनिक रुपमा मतदाताहरुको घरमा पुगेको छु ।”

एक निर्वाचन क्षेत्र रहेको म्याग्दी बेनी नगरपालिकामा २२ हजार ५७८, मंगलामा १३ हजार ४४६, मालिकामा १३ हजार ३५५, रघुगङ्गामा १४ हजार १५८, अन्नपूर्णमा १२ हजार २९ र धवलागिरीमा १० हजार ८३१ गरेर ८६ हजार तीनसय ९७ मतदाता छन् । ४२ हजार तीनसय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एकजना यौनिक तथा लङ्ैगिक अल्पसङ्ख्यक समुदायका मतदाता छन् । 

जिल्लामा ८२ वटा मतदानस्थल र एकसय २० वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदान स्थललाई समान्य भनेर बर्गीकरण गरेको छ ।