• ४ फागुन २०८२, सोमबार

निर्वाचनमा सञ्चार माध्यम

blog

मुलुकमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल छ । चियापसलदेखि चौतारीसम्म र सामाजिक सञ्जालका भित्तादेखि मिडिया प्लेटफर्मसम्मै अहिले निर्वाचनकै चर्चा छ । निर्वाचन आफैँमा जनताको सार्वभौम अधिकार प्रयोग हुने राजनीतिक प्रक्रिया र ‘लोकतन्त्रको प्राणवायु’ पनि हो । निर्वाचन आयोगमा दर्ता भएका १३६ दलमध्ये ११४ दल र तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवार मैदानमा देखिएको उत्साहले देश निर्वाचनमय बनेको पाइन्छ । आमनागरिक पनि असल र योग्य प्रतिनिधि चयनका लागि व्यग्र प्रतीक्षामा फागुन २१ लाई कुरेर बसेका छन् । यस्तो उल्लासपूर्ण सहभागितामा हुन लागेको निर्वाचनमा समाजको ‘आँखा र कान’ मानिएको सञ्चार माध्यमको भूमिका अझ महत्वपूर्ण ठहर्छ । यस विशेष परिस्थितिमा सञ्चार माध्यमको दायित्व, सतर्कता र व्यावसायिक मर्यादाका बहुआयामिक पक्ष बढी जिम्मेवार हुने गर्छन् । सञ्चार माध्यमले ‘स्वधर्म’ निर्वाह गरेर समाचार, विचार र विश्लेषण सार्वजनिक गर्ने हो भने मात्र निर्वाचनको कसी बलियो हुने देखिन्छ । राज्यको चौथो अङ्ग मानिने पत्रकारिताले समाजको ‘वाचडग’ का साथै मतदातालाई सही बाटो देखाउने मार्गदर्शकको विशेष भूमिका निर्वाह गर्न सक्नु पर्छ । 

नैतिक प्रतिस्पर्धामा जोड

निर्वाचनलाई सफल, विश्वसनीय र अर्थपूर्ण बनाउनका लागि मूलतः नैतिक प्रतिस्पर्धा बढाउने प्रकृतिका सामग्री प्राथमिकतासाथ प्रस्तुत गर्नुपर्ने हुन्छ । आममतदातालाई प्रतिनिधि सभा निर्वाचनको वास्तविक महत्व बुझाउने प्रमुख जिम्मेवारी पनि सञ्चार माध्यमकै भएकाले सबैलाई आ–आफ्नो नैतिक आचारणमा रहनका लागि ऊ मार्गदर्शक बन्नुपर्ने हुन्छ । निर्वाचन केवल प्रतिनिधि छान्ने प्राविधिक प्रक्रिया मात्र नभई आगामी पाँच वर्षका लागि देशको दिशा, नीति र भविष्य तय गर्ने महत्वपूर्ण लोकतान्त्रिक अवसर हो भन्ने सन्देश व्यापक रूपमा सम्प्रेषण गरिनु पर्छ । यस्ता विषय सन्दर्भ सम्प्रेषणमा व्यावसायिक आचारण र कुशल जिम्मेवारी यसरी पूरा गर्नु पर्छ भनेर सञ्चार माध्यम स्वयम्ले पनि व्यावहारिक अभ्यास बढाउनुपर्ने भएको छ । स्वच्छ पत्रकारिता भनेर अस्वस्थ प्रतिस्पर्धा गर्दै आमसर्वसाधारणलाई मिथ्या एवं भ्रामक सूचना सम्प्रेषण गर्नेले समग्र पत्रकारितालाई दूषित र आलोचित बनाइरहेका छन् । ‘हाम्रो सञ्चार माध्यमबाट होइन, अरूले नै त गलत सूचना सम्प्रेषण गरेका हुन्’ भनेर अन्यत्रबाट भए गरिएका गलत कर्मलाई भण्डाफोर नगर्ने प्रवृत्तिले पनि अन्ततः यसको नैतिकतामा ह्रास ल्याइरहेको छ । दल र उम्मेदवारका नीति, कार्यक्रम र प्रतिबद्धतामाथि आलोचनात्मक दृष्टि राख्दै मतदातालाई सचेत बनाउनुपर्ने दायित्वमा भ्रामक विषय सन्दर्भ पस्कने जुनसुकै सञ्चार माध्यमलाई नैतिकताको पाठ सिकाउनुपर्ने अर्को जिम्मेवारी पनि थपिएको पाइन्छ । 

पछिल्लो समय सञ्चार माध्यम दुरुपयोग गर्दै कतिपय उम्मेदवार तथा समर्थकबाट एक–अर्कामाथि गालीगलौज गर्ने, अपमानजनक टिप्पणी गर्ने वा घृणास्पद अभिव्यक्ति दिने प्रवृत्ति बढ्दो छ । अरूलाई बदनाम गरेर आफू सही देखिन खोज्नेले धेरैजसो सामाजिक सञ्जाललाई ‘प्लेटफर्म’ बनाइरहेका छन् । त्यही प्लेटफर्ममार्फत पत्रकारले समेत समाचारजन्य सामग्री सम्प्रेषण गर्दै अमूक पक्षलाई सहयोग गर्ने कुप्रथा निकै मौलाएको पाइन्छ । प्रत्येक उम्मेदवारलाई मतदातासामु आफ्ना वास्तविक योजना प्रस्तुत गर्दै उत्तरदायी बन्न प्रेरित गर्नुपर्नेमा सञ्चार माध्यम स्वयम् नैतिक सीमारेखा नाघेर भ्रामक प्रचारमा सहभागी हुनु दुर्भाग्यपूर्ण हो । निर्वाचनको प्रतिस्पर्धा गालीगलौजमा नभई विचार, नीति र नैतिकतामा हुनु पर्छ भन्ने कुरा सञ्चार माध्यमबाट प्रवाहित हुने सामग्रीमा स्पष्ट देखिनु पर्छ । निर्वाचनलाई स्वस्थ, निष्पक्ष र विश्वसनीय बनाउनका लागि सञ्चार माध्यमले सनसनीपूर्ण प्रचारमा नभई सत्यमा, आरोपमा नभई तर्कमा र विभाजनमा नभई सहमतिमा आवाज मुखरित गर्नुपर्ने हुन्छ । 

एआई साक्षरताको प्रवर्धन

अहिले प्रविधिको विकाससँगै कृत्रिम बुद्धि (एआई) मार्फत विश्वजगत्मै नयाँ क्रान्ति आएको छ । एआईले सामाजिक सञ्जालभन्दा पनि कैयौँ गुना छिटो र प्रभावकारी रूपमा कार्यसम्पादन गर्न सफल हुँदा त्यसलाई सदुपयोगको सट्टा दुरुपयोग गर्ने क्रम बढिरहेको पाइन्छ । विगतका निर्वाचनमा सामाजिक सञ्जाल ‘असामाजिक’ नहोस् भनेर फेसबुक र टिकटकसँग सहकार्य गरेको निर्वाचन आयोगले यस पटक झन् एआईको सामना गर्नु परेको छ । एआई आफैँमा सामाजिक सञ्जालभन्दा पनि कैयौँ गुना जटिल र अदृश्य स्वरूपमा छाइरहेको छ । सामाजिक सञ्जालमा भ्रामक सामग्री बनाउनका लागि कम्तीमा पनि मानवीय श्रम र समय लाग्ने हुँदा कतै न कतै मानवीय सोच जोडिन्थ्यो तर अहिलेको एआईसँग त कुनै पनि मानवीय संवेग छैन । यसले केही निमेषमै यस्ता गलत वा मिथ्या प्रचारमुखी भिडियो वा सामग्री उत्पादन गरिदिन्छ, जहाँ आफ्नै उम्मेदवार बोलिरहेको जस्तो दुरुस्तै देखिन्छ । एआईको दुरुपयोगमा आफैँ गलत विवरण खडा गरेर लाइक, सेयर र कमेन्टमार्फत भ्रमको खेती विस्तार हुने गर्छ । सही सामग्री हो कि होइनभन्दा पनि उक्त सामग्री कहाँ बन्यो र कसले बनायो भन्नेसम्म पनि पत्ता लगाउन गाह्रो भएपछि कानुनी कारबाहीको दायरा पनि सङ्कुचित भइरहेको छ । 

एआई चरम उपयोग हुने अहिलेको अवस्थामा सञ्चार माध्यमले आफूलाई प्रत्येक सूचनाको शुद्धीकरण गर्ने यन्त्रका रूपमा उभ्याउन सक्नु पर्छ । कुनै पनि सूचना होडबाजीमा ‘पहिले’ र ‘ब्रेकिङ’ गर्ने प्रतिस्पर्धामा सामेल नभई सही र तथ्यपरक सूचना पस्कने धीरता गर्नु नै आजको पत्रकारिताको असली धर्म हो । यसका लागि मिडियाले एआईबाट उत्पादित सामग्रीलाई पुनः तथ्य परीक्षण गर्ने मात्र नभई सञ्जाललगायत अन्यत्र आएका विषयवस्तुको पनि तथ्य परीक्षण गर्दै आमसर्वसाधारणमाझ यथार्थ सूचना सम्प्रेषण गर्नु पर्छ । यसर्थ डिजिटल प्लेटफर्मको दुरुपयोग रोक्न र मतदातालाई भ्रमित हुनबाट जोगाउन तथ्य जाँचलाई जोड दिँदै एआई साक्षरता बढाउनुपर्ने हुन्छ । 

घोषणापत्रको विश्लेषण

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा घोषणापत्रलाई अनिवार्य गरी आचारसंहितामा बाँधेको छ । फागुन ४ गतेसम्ममा सबैले आ–आफ्नो घोषणापत्र आयोगमा बुझाउनुपर्ने हुन्छ । घोषणापत्र बुझाउने म्यादपछि मात्र घोषणापत्रका आधारमा चुनावी प्रचारप्रसार गर्न पाउने व्यवस्था छ । त्यतिमात्र नभई अब दलहरूले आफ्ना प्रतिबद्धताको वार्षिक प्रगति प्रतिवेदनसमेत सार्वजनिक गर्नुपर्ने हुन्छ । प्रत्येक उम्मेदवारका यी लिखित प्रतिबद्धता (घोषणापत्र) कत्तिको यथार्थपरक छन् र कत्तिको ‘खोक्रा प्रलोभन’ हुन् भन्ने कुराको विश्लेषण सञ्चार माध्यमले गरिदिनु पर्छ । प्रत्येक घोषणापत्रले यी–यी कुरा बुझाउँछन् र सो घोषणापत्र अनुशरण गर्ने प्रतिनिधि विजयी हुँदा घोषणापत्रमा उल्लेख भएका यी–यी कुरा पूरा हुन सक्छन् भनेर सञ्चार माध्यमले आमसर्वसाधारणलाई सन्देश प्रवाह गर्नुपर्ने हुन्छ । 

अहिले कतिपय सञ्चार माध्यमले घोषणापत्र आउनुभन्दा अघि नै ‘फलानोले जित्यो भने यसो गर्ने, उसो गर्ने भन्नुभयो, अब तपाईंको मत कसलाई ?’ भनेर पूरै जनताको वैचारिकतामा प्रहार गरिरहेका छन् । कतिपय अवस्थामा त सञ्चार माध्यममार्फत भविष्यवाणी गर्नेसम्मको कर्म भइरहेको छ । हाम्रो पत्रकारिताले कसले जित्छ भन्ने ‘ज्योतिषीय भविष्यवाणी’ गर्नुको सट्टा कसको नीतिले देशलाई कुन दिशा दिन्छ वा कता लैजान्छ भन्ने नीतिगत बहसलाई चाहिँ उकास्नुपर्ने हुन्छ । कसको नीतिगत कुरा के छ, पहिले के थियो, अबको सम्भावित घोषणापत्र कस्तो हुन सक्छ भन्ने कुराको खोजी गरेर जनतामाझ सत्यतथ्य नीतिगत कुरा उजागर गर्नुपर्ने भएको छ । व्यक्तिकेन्द्रित समाचार सम्प्रेषणलाई कम गर्दै नीतिगत वैचारिकताको सवाललाई विशेष महत्व दिनुपर्ने समय आएको छ । यसैले चर्चाकै आधारमा कुनै उम्मेदवारलाई ‘हेबी वेट’ को पगरी भिराउँदै अन्य कैयौँ उम्मेदवारलाई कमजोर देखाउने मात्र नभई तिनीहरूबिचै ‘कसले मार्ला बाजी ?’ भनेर अड्कलबाजीमा आधारित भएर बढेको मिडिया ट्रायल रोक्नै पर्छ । सामाजिक सञ्जालमा छाउने मिथ्या सूचनाविरुद्ध उम्मेदवारको योग्यता र योजनाका आधारमै आमसर्वसाधारणले मत हाल्न पाउनुपर्ने वातावरण सिर्जना गर्नु पत्रकारिताको परम् धर्म हो । 

मिडिया सुरक्षा कवचको पालना

प्रेस आचारसंहितालाई पत्रकारिता पेसाको नैतिक मापदण्ड मानिन्छ । खासमा यो आचारसंहिता प्रेस स्वतन्त्रताको प्रभावकारी सुरक्षा कवच हो । अहिलेको निर्वाचनमा सञ्चारकर्मीले पत्रकार आचारसंहिता, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ लाई मार्गदर्शक मानेर काम गर्ने हो भने आफू र आफ्नो पेसाको गरिमा थप उँचो हुन्छ । एउटा पत्रकारले कुनै पनि समाचार लेख्दा ‘यो समाचार मेराविरुद्ध लेखिएको भए मलाई कस्तो हुन्थ्यो होला ?’ भनेर एक पटक मात्रै सोच्दा पनि धेरै विकृति स्वतः कम भएर जान्छन् । खराब र सही अनि मेरो र अरूको भन्ने जस्ता विषयमा पूर्ण तथ्यपरक बन्दै ‘समानुभूतिको सिद्धान्त’ अपनाउनुपर्ने हुन्छ । पक्षपातपूर्ण समाचारबाट हुने क्षणिक लाभले अन्ततः समग्र सञ्चार माध्यमको विश्वसनीयतामाथि सधैँ प्रश्नचिह्न खडा भइरहन्छ । आमसचेतवर्गले समाचारको विश्वसनीयतालाई सजिलै छुट्याउन सक्ने हुँदा अबको पत्रकारिताले आचारसंहितागत स्वनियमन र आत्मनियन्त्रणमार्फत सुरक्षा कवच अपनाउनु बढी श्रेयस्कर देखिन्छ । 

अतः आसन्न प्रतिनिधि सभा निर्वाचनको उत्साहपूर्ण माहोलमा लोकतन्त्रको ‘आँखा र कान’ मानिएको सञ्चार माध्यमले नैतिक प्रतिस्पर्धा प्रवर्धन गर्दै मतदातालाई सही सूचना र नीतिगत बहसमार्फत सचेत बनाउनु अत्यावश्यक छ । एआई तथा सामाजिक सञ्जालबाट फैलिने भ्रामक सामग्री, गालीगलौज र व्यक्तिकेन्द्रित प्रचारलाई निरुत्साहित गर्दै घोषणापत्रको तथ्यपरक विश्लेषण र सूचना प्रमाणीकरणमा मिडियाले विशेष जोड दिनुपर्ने हुन्छ । प्रेस र निर्वाचन आचारसंहिता पालना गर्दै सत्य, तर्क र वस्तुनिष्ठतामा आधारित पत्रकारितामार्फत निर्वाचनलाई स्वस्थ, निष्पक्ष र विश्वसनीय बनाउन सकिन्छ ।