प्रवीणकुमार शर्मा
रौतहट, फागुन ४ गते । रौतहट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटेको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगका अनुसार आइतबार दिउँसो गोप्य सूचनाको आधारमा चन्द्रपुर नगरपालिका वडा नं.४ मा प्रहरी टोलीले चन्द्रपुर वडा नं. १ बागमती बस्ने ३२ वर्षीय तुलबहादुर लामालाई खानतलासी गर्दा उहाँको साथबाट ब्राउन सुगर सेवन गर्न प्रयोग गरिने रु. ५ को फोल्ड, ब्लेड लगायतका लागुऔषध बरामबर गरेको जनाइएको छ ।
यसैगरी, चन्द्रपुर वडा नं.४ गणेश चोकमा रहेको दुर्गाबहादुर घलेको घरमा डेरा लिइ बस्ने उदयपुर गाईघाट घर बताउने २३ वर्षीया प्रिया तामाङ र चन्द्रपुर –४ का ३५ वर्षीय राज बलम पाख्रिन मगरलाई समेत पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लाबुंगले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक लाबुंगका अनुसार सो कोठाबाट ब्राउन सुगर जस्ता बस्तुहरूको तौल गरिने मसिन, ब्राउन सुगर राख्न प्रयोग हुने कालो प्लाष्टिकको टुक्राहरु बरामद भएको छ ।
पक्राउ परेकासँग सोधपुछका आधारमा चन्द्रपुर वडा नं.१ मा रहेको अमृत घिसिङको घरबाट चन्द्रपुर ४ का २९ वर्षीय प्रशान्त तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लाबुंगले जानकारी दिनुभयो । तामाङ्ग बस्ने कोठाबाट कालो प्लास्टिकको पुरियामा राखेको २४० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र अन्य समानहरु बरामद गरीएको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले जनाएको छ ।