• ३ फागुन २०८२, आइतबार

नेमकिपाको घोषणापत्र: भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरौँ

blog

काठमाडौँ, फागुन ३ गते  । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका सचिव प्रेम सुवालले ठूला भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय दिनेसम्मको व्यवस्था गर्नुपर्ने विषय घोषणापत्रमा उल्लेख गरिएको बताउनुभयो। घोषणापत्रमा जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशीका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने कानुनी व्यवस्था खारेज गर्नुपर्ने र आमाबुबा दुवै वंशज नेपाली नागरिक भएका सन्तानलाई मात्र वंशजको नागरिकता दिने व्यवस्थाका लागि सङ्घर्ष जारी राख्ने उल्लेख छ।

त्यसैगरी विश्वविद्यालयका उपकुलपति, रेक्टर, रजिस्ट्रार, संवैधानिक आयोगका पदाधिकारी, सेना र प्रहरीका प्रमुख एवं न्यायालयका न्यायाधीशलाई सम्बन्धित क्षेत्रबाट निर्वाचित गराएर नियुक्त गर्न आवाज उठाइने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

सचिव सुवालले सर्वसाधारण जनतालाई थप सेवासहित स्वास्थ्य बिमाको उपचार प्रभावकारी बनाउन जोड दिइने बताउनुभयो। उहाँले सहकारीमार्फत घरघरमा रोजगारी सिर्जना गर्ने, कुटीर व्यवसाय एवं साना घरेलु उद्योगको प्रबन्ध गर्न सके सहकारीमा भइरहेको ठगी नियन्त्रण हुने भएकाले त्यसका लागि पहल गरिने उल्लेख गर्नुभयो।

कृषि उत्पादन बढाउन आवश्यक ठाउँमा सिँचाइका नहर निर्माणका लागि सङ्घर्ष गर्ने तथा मल कारखाना र बीउबिजनको व्यवस्था गर्ने सङ्कल्प पनि घोषणापत्रमा गरिएको छ।