रमेश विश्वकर्मा
गुल्मी, फागुन ४ गते । फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतपत्र बदर हुन नदिन गुल्मीमा मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन गरिएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहका ९३ वटै वडामा मतदाता शिक्षाका लागि ९३ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका प्रमुख जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन अधिकारी घिमिरेका अनुसार आइतबारदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रममार्फत निर्वाचनमा मतदातालाई सही मतदान गर्ने तरिकासम्बन्धी जानकारी गराउनु हुनेछ । प्रत्येक वडामा एक÷एक जना मतदाता शिक्षा स्वयम् सेवक परिचालित हुनुभएको छ । वडामा खटिनुभएका स्वयंसेवकहरुले निर्वाचन प्रक्रिया, मतदान प्रक्रिया, मतदान गर्ने विधि, मत बदर हुने अवस्था र मतदानको महत्त्वको बारेमा गाउँटोल र घरदैलो गरी मतदाता शिक्षा प्रवर्धन गरिने उहाँले बताउनुभयो ।
फागुन १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि महिला स्वास्थ्य स्वयंसेविका, मातृ शिशु कार्यकर्ता र बालविकास सहजकर्तालाई छनोट गरिएको छ । मतदाता शिक्षाका लागि छनोट हुनुभएका स्वयंसेवकलाई तालिम प्रदान गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा कुल मतदाताको सङ्ख्या दुई लाख २९ हजार ५४९ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा महिला एक लाख १५ हजार २१० जना, पुरुष एक लाख १४ हजार ३३७ जना र अन्य दुई जना मतदाता हुनुहुन्छ ।
जिल्लामा १४५ मतदानस्थल र २८४ मतदान केन्द्र रहेका छन् । जिल्ला सुरक्षा समितिले विगतको निर्वाचनमा भएका गतिविधि, भौगोलिक विकटता, सञ्चार पहुँच, यातायातको पहुँच पछिल्लो अपराधिक गतिविधि, दलहरु बिचको प्रतिस्पर्धा, संवेदनशीलता लगायतका अवस्थालाई अध्ययन गरेर मतदानस्थलको वर्गीकरण गरेको छ । जसमा ४८ मतदानस्थल अतिसंवेदनशील, ५७ मतदानस्थल संवेदनशील र ४० मतदानस्थल सामान्य सूचिमा राखेको छ ।